अन्नपूर्ण आधारशिविर (एबिसी)पुग्न अब पर्यटकले कोरोना परीक्षण गरेर पिसिआरको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने भएको छ । स्थानीय व्यवसायीले आधारशिविर पदमार्गको छोमरोङ भन्दा माथि जाँदा पिसिआरको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरेकोमा अब त्यो बाध्यकारी प्रावधान हटाएका हुन् । अबदेखि पर्यटक बिना पिसिआर रिपोर्ट पनि एबिसीसम्म पुग्न सक्ने व्यवसायीले बताएका छन् ।

पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलीप गुरुङले पदयात्रीको सहजताका लागि पिसिआरको नेगेटिभ रिपोर्ट नचाहिने गरि सहज बनाएको बताए । ‘एबिसीसम्म जाँदा कसैले पनि पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्दैन,’ गुरुङले भने, ‘यसले आन्तरिक पदयात्रीलाई केही सहज हुने अनुमान गरेका छौ ।’ नयाँ प्रावधान बुधबारदेखि नै लागु भएको उनले बताए ।

कोरोनाका कारण चैतदेखि एबिसीसम्मको पदयात्रा बन्द रहेकोमा गत माघ १ देखि खुलाइएको थियो । पदयात्रा खुला गरेको भएपनि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरेकोले पर्यटक आउन नसकेकोले त्यो प्रावधान हटाएको उनले बताए । ‘पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य चाहिने भन्ने प्रावधान हटाएपनि सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालनामा भने कडाई हुनेछ,’ उनले भने, ‘मास्क, स्यानिटाइजरका प्रावधान कडाईका साथ लागु गरिनेछ ।’

कोरोनाका कारण चैतदेखि नै आधारशिविरको पदमार्ग रोकिएको थियो । तर, त्यो भन्दा अगाडि पोहोर माघ ३ गते आधारशिविर पदमार्गमा हिमपहिरो झर्दा पदमार्ग अवरुद्ध भएपछि पर्यटक जान सकेका थिएनन् । हिउँ पग्लेर पदमार्ग सुचारु हुन नपाउँदै कोरोनाको मारले आउजाउ रोकिइसकेको थियो । माघ १ गतेदेखि पदयात्रा खुलाएपनि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिँदा पर्यटकहरु घान्द्रुकबाट अगाडि बढ्न पाएका थिएनन् ।

उनका अनुसार अहिले पदमार्गको देउरालीसम्मका होटल खुला छन् । तर, एबिसी र माछापुच्छ«े आधारशिविर (एमबिसी)का होटल भने अझै बन्द छन् । आधारशिविरका होटल बन्द भएकोले अहिले गएका पर्यटक देउराली भन्दा अगाडि बास पाउँदैनन् । यतिबेला देउरालीसम्मका होटल मात्र खुलेकोले आधारशिविर क्षेत्रमा बास बस्न भने नमिल्ने उनले बताए । ‘देउरालीबाट चारघण्टामा एबिसी पुग्न सकिन्छ । एबिसीसम्म हाइकिङ गएर बेलुकी देउराली नै फर्किन सकिने गरि प्याकेज बनाएका छौ । देउरालीबाट एबिसी पु¥याउने र घुमाएर देउराली नै झार्नेगरि गाइड तयार पारेका छौ,’ उनले भने, ‘देउरालीका तिनै गाइडले खाना सहित पाहुनालाई एबिसी उकाल्ने र बेलुकी तल झार्नेछन् ।’ देउरालीदेखि एबिसीसम्म चारघण्टामा उक्लिन र फर्किदा दुईघण्टा सकिने उनले बताए ।

‘आधारशिविर क्षेत्रका होटल नखुलिसकेकोले अहिलेका लागि देउराली अन्तिम बसोबास हुन्छ । तर, होटल खुलेपछि एबिसीमै बास बस्न पाउनेछन,’ उनले भने, ‘एबिसी र एमबिसीका होटल खोल्ने पहल भईरहेको छ । कामदार घर रहेकोले उनीहरुलाई फर्काएर होटल सुचारु गर्ने तयारी छ । कामदार आउँदै गरेकोले एकसाताभित्र होटल पनि संचालनमा आउनेछन् ।’ अहिले एबिसीमा चार र एमबिसीमा पाँचवटा होटल छन् । योपटक हिमपात नभएकोले पनि पदयात्रीलाई अहिलेसम्मको अवस्थामा एबिसीसम्म पुग्न सहज रहेको उनले बताए ।  nagariknews.com