उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि यसबर्ष ३ करोड बिनियोजन भएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि ३ करोड विनियोजनसँगै संरक्षणको थप काम सुरु गर्ने तयारीमा रहेको पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनाका ईन्जिनियर कृष्ण विकले बताए ।

‘बेनीबजार आसपासको क्षेत्रमै काम हुन्छ,‘बजार आसपासका क्षेत्रमा पनि कटान नियन्त्रणका लागि पहल भइरहेको छ’ इन्जिनियर विकले बेनीअनलाइनलाई भने । कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीले ठेक्का पाएको छ । गतबर्ष सदरमुकाम बेनी आसपासका क्षेत्रमा करिब ४ करोडको खर्चमा बजार संरक्षणको काम भएको थियो ।

विगत एकदशक यता बेनीबजार संरक्षणमा कराडौं बजेट विनियोजन भएपनि आयोजना पक्षको गलत इष्टिमेटका कारण बर्षेनी कटानले क्षती गर्ने गरेको छ । आयोजनाले बनाउने लागत र इष्टिमेटका बारेमा स्थानीय सरोकारवाला निकायसँग कुनै छलफल र परामर्श नलिदाँ आवश्यक भन्दा फरक संरचना बन्ने गरेको छ ।

गतबर्ष बगरफाँट, भसभसे लगायतका क्षेत्रमा गरिएको संरक्षण नदी कटानले क्षती पुगेको छ भने बेनीबजार संरक्षणका लागि आर्थिक वर्ष २०७३÷७४ र ०७४÷७५ मा झण्डै ५ करोड खर्चिएर म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिबाट जेसिज सचिवालय भवनसम्मकोपक्की तटबन्ध भत्काएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी ररिटेनिङ (मेसिनरी) पर्खाल बनाइएको थियो ।

संरक्षणको नाममा बर्षेनी करोडौं खर्च गर्ने गरिएपनि मनसुन सकिने समयमा परेको भारी वर्षाले खोलामा एक्कासी पानीको सतह बढेपछि तटबन्ध बगाउने गरेको छ । बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी डेढदशक यता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबिनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो ।

ग्याबिनजाली, ढुंगाको प्रयोग गरी प्रयास गरिएको रोकथाम प्रभावकारी नभएपछि आर्थिक वर्ष ०७१÷७२ देखि ०७३÷७४ सम्म आरसिसी पर्खालको निर्माण सुरु गरिएको थियो । तटबन्धनलाई चक्रपथको रूपमा प्रयोग गर्ने गरिएको छ। बेनीबजारको पूर्ण संरक्षणका लागि पक्की पर्खाल सहितको संरचनामा झण्डै ५० करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।