म्याग्दीमा यो वर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । टिप्ने बेला भएको सुन्तलाको दानामा सिट्रस फुडफ्लाई (औंसा) नामक किराको प्रकोपले नोक्सानी गर्दा  जिल्लाभर सुन्तलाको उत्पादनमा कमी आएको किसानले बताएका छन् । यो पटक किराकै कारण करिब ७ सय २० टन सुन्तलाका दाना खेर गएको कृषि ज्ञान केन्द्रको अनुमान छ । किराको प्रकोपका कारण ३ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको केन्द्रले बताएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने जिल्लाका करिब एकदर्जन गाउँमा सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेँलो हुँदै झर्न थालेपछि स्वाद र फलको आकारमा समेत असर गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । ‘सुन्तलाको दाना टिप्ने बेलामा किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ, उनले भने, ‘प्रकोपले बाहिरी बजारमा जाने सुन्तलाको मुल्यमा पनि असर गरेको छ ।’ जिल्लाको ६ वटै स्थानीय तहको ३ हजार ४५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा २६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

यसवर्ष करिब ९ करोड १० लाख रुपैयाँ मुल्य बराबरको सुन्तला उत्पादन भएकोमा ६० देखि ७० प्रतिशत सुन्तला बाहिरी जिल्लामा निर्यात भएको उनले बताए । ‘किराको प्रकोपले सबैतिरका सुन्तलाबारीमा असर गरेको छ, हामीले क्षतीको विवरण संकलन गरी पठाएका छौ,’ पाण्डेले भने । यो पटक म्याग्दीका एकैजना किसानले दुईलाख रुपैयाँसम्मको आम्दानी गुमाएका छन् । म्याग्दीको बेनी नगरपालिकाको भकिम्ली, राखु, मरेक, सिंगाको बास्कुना, सुर्केमेला, थामडाँडा, मंगला गाउँपालिकाको बरंजा, अर्मन, मालिका गाउँपालिकाको ओखरबोट, देविस्थान, बिम र रघुगंगा गाउँपालिकाको बेगखोला, राखु, अन्नपूर्ण गाउँपालिकाको दानाबाट गतबर्ष करिब ११ करोड रुपैयाँको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो ।सुन्तलामा किराको प्रकोपले बाहिरी जिल्लाबाट आउने ब्यापारीले समेत कम मुल्य दिएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि स्वाद समेत गुमेको भन्दै कम मुल्यमा बिक्री गर्नुपरेको उनले बताए । ‘एकदशक यता कृषकले धेरै क्षती बेर्होनुपरेको अवस्था छ,’ उनले भने, ‘क्षती बराबरको राहतको माग समेत माग गरेका छौ ।’ बगैचामा झरेको सुन्तलाको दानालाई संकलनको आधारमा क्षतिपुर्ती दिनुपर्ने किसानको माग छ । म्याग्दीमा एउटै किसानले ८ लाख रुपैयँसम्मको सुन्तला बिक्री गर्ने गरेका छन् । गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो ।

‘ए’ र ‘बि’ ग्रेडको सुन्तलाको मुल्यमा समेत ठेकेदारले किराको प्रकापको बाहनामा कम गरको किसानको गुनासो छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । यसवर्षको क्षतीलाई मध्यनजर गरी पकेट क्षेत्रमा बगैचा विस्तार, सुधार, पुराना बोटको मर्मत, अनुदानलाई प्राथमिकता दिने ज्ञानकेन्द्रले जनाएको छ ।