उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित २२० केभी क्षमताको सबस्टेशनको दाना-कुस्मा लाइनको शुक्रबारदेखि चार्ज सुरु भएको छ । ३९.८ किलोमिटर लामो २२० केभी क्षमता डबल सर्किटको लाइनको परीक्षण प्रशारण सफल भएको छ । सवस्टेशनको चार्ज अगाडी दाना देखि कुस्मासम्मको डबल सर्किट लाइनको परीक्षण सफल भएपछि एकदुई दिनभित्र दाना सवस्टेशनको समेत चार्ज गरिने आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए । ‘निकै ठूलो उपलब्धी नजिक आइपुगेका छौ,‘दाना सबस्टेशनको परीक्षण सफल भएपछि उद्घाटन कार्यक्रम समेत हुन्छ’ उनले भने । बिहिबार पर्वतको मोदी–चुवा हुदै खुर्कोटसम्म ल्याइएको १३२ केभी बिद्युत ल्याएर सबस्टेशनको टान्सफर्मर चार्ज सफल भएको थियो ।

खुर्कोटको सबस्टेशन चार्जको परिक्षण अबधि २४ घण्टामा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि लाइनको परीक्षण गरिएको थियो । सवस्टेशनको उद्घाटन समेत भब्य गर्ने तयारी भइरहेको छ । डबल सर्किटको लाइनको प्रशारण सफल भएपछि आयोजनाको टोली दाना सबस्टेशनको चार्च सहितको प्रक्रियामा खटिएको सहायक प्रबन्धक फुँयालको भनाई छ ।

लामो समयसम्म आयोजना प्रमुख चन्दनकुमार घोष स्थलगत रुपमै खटिएर आयोजनाको कामलाई तिब्रता दिएका थिए । सबस्टेशनका ट्रान्सफर्मर चार्ज र परिक्षण सफल भएपछि उत्तरी म्याग्दी र मुस्ताङमा तयारी अवस्थामा रहेका विद्युत केन्द्रीय ग्रिडमा जोडिने छ । सवस्टेशनले म्याग्दीको जलविद्युतमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।

सबस्टेशनका ११० टावर बनाएर ३९.६ किलोमिटर तार तानिएको छ । सबस्टेशन परीक्षण अगाडी विदेशी इन्जिनियरहरूको टोलीले समेत आन्तरिक परीक्षण गरेको थियो । एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य सहित सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

यो प्रसारण लाइनअन्तर्गत मुस्ताङको १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला तयारी अवस्थामै छ भने ४२ मेगावाटको मिस्त्री खोलाले केही महिनाभित्रै ब्यवसायीक उत्पादन गर्ने तयारीमा छ ।

तत्काल थापाखोला र घलेम्दीको उत्पादन केन्द्रीय ग्रिडमा जोडिने छ । आयोजना सम्पन्न नहुदाँ घलेम्दीको विद्युत खेर गइरहेको थियो भने थापाखोलाले समेत क्षमता अनुसारको उत्पादन गर्न सकेको थिएन् । म्याग्दीका जलविद्युत लगानीकर्ताले समेत सबस्टेशन म्याग्दीको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको बताएका छन् । सवस्टेशनमार्फत उत्तरी क्षेत्रमा १४ मेगावाटको घारखोला, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्यले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज लगायतका आयोजनाहरु समेत छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन सम्पन्न हुन थालेपछि पूर्वाधार निर्माणमा जुट्न थालेका छन् ।