प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए । उनले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।’ उनले भने ।

उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गर्नुभयो । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाव दिए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए । उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरे ।

शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।