अन्नपूर्ण गाउँपालिका–३, दानामा स्थित २२० केभी दाना सबस्टेसन आइतबार (आज) चार्ज भएकाे छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइनअन्तर्गत दानामा निर्माण सम्पन्न सबस्टेसन नाे लाेडमा चार्ज गरेकाे हाे। सबस्टेसन अपरान्ह ४ बजे ‘नो लोड’ मा चार्ज गरिएकाे आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनले कुनै प्रकारको प्राविधिक समस्या नआएकाले  सबस्टेसन चार्ज  गरेर जडान भएका पावर ट्रान्सफर्मरको परीक्षण सुरु गरेकाे बताए ।‘प्रसारण लाइनको दाना–कुस्मा खण्डको खुर्कोट सबस्टेसन चार्ज भइसकेको छ,’ उनले भने, ‘आज दाना सबस्टेसन चार्ज भएकाे छ ।’  प्रसारण लाइनको ४० किलोमिटर लामो दाना–कुस्मा खण्ड पनि शनिबार नो लोडमा चार्ज गरिएकाे थियाे ।यसअघि खुर्कोट सबस्टेसन र दाना–कुस्मा प्रसारण लाइन चार्ज गरेर सफल  परीक्षण गरिएकाेमा दाना सबस्टेसनको परीक्षण पनि सफल हुने देखिएकाे घोषले बताए । उनले अब एक साताभित्र लाेड दिएर प्रसारण लाइन र सबस्टेसन चार्ज गर्ने तयारी भइरहेकाे जानकारी दिए ।२०७३ साल भदौबाट निर्माण सुरु भएको प्रसारण लाइनको यो खण्डमा १ सय १० वटा टावर निर्माण गरिएको छ । दाना र कुस्माको खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माण भएका छन् ।

एशियाली विकास बैंक (एडिबी) को ऋण तथा सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा यो प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । पहिलो खण्ड सञ्चालन भएपछि म्याग्दी जिल्लाका विभिन्न नदी खोलामा निर्माण भएका र हुने जलविद्युत आयोजनाको विद्युत कुस्मा (खुकोट) सम्म ल्याई १३२ केभी प्रसारण लाइनमार्फत पोखरा पुर्याइने छ । यो खण्ड सञ्चालन भएपछि यसअघि नै निर्माण सम्पन्न भई पूर्ण क्षमतामा चल्न नपाएका १३.६ मेगावाटको थापाखोला र ५ मेगावाटको घलेम्दी आयोजना जोडिने छन् । प्रसारण लाइन अभावमा थापा खोलाको ६.८ मेगावाट विद्युत मात्रै प्रणालीमा जोडिएको छ । बाँकी विद्युत खेर गइरहेको छ । अहिले थापाखोला ३३ केभी वैकल्पिक लाइनमा जोडिएको छ । निर्माण अन्तिम चरणमा पुगेको ४२ मेगावाटको मिस्ट्री खोलाको विद्युत पनि यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छ । प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड पनि निर्माणाधीन छ । ८७ किलोमिटर लामो प्रसारण लाइनको २ सय ३० वटा टावर मध्ये १ सय वटाको मात्रै काम बाँकी रहेको घोषले जानकारी दिए ।यो खण्डमा केही स्थानमा जग्गाको मुआब्जा विवादले निर्माण प्रभावित हुन पुगेको छ ।

समस्या नभएका स्थानमा नियमित काम भइरहे पनि मुआब्वा विवाद भएका स्थानमा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ । वन क्षेत्रको रुख कटान गर्ने स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा कागजात पेश गरिएको छ । प्रसारण लाइनको तेस्रो खण्ड (न्यू बुटवल–वर्दघाट) पनि निर्माणाधीन छ । यो खण्ड २० किलो मिटर लामो छ । Source: ऊर्जा खबर