नेकपाको पार्टी आधिकारिकताको लडाइँमा रहेका बेला निर्वाचन आयोगले भने केही निर्णय गर्न सकेन ।आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने निर्णय गरेको छ । दल दर्ताका बखत् केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई विभाजन हुन आयोगले रोकेको हो।

आज बसेको आयोगको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको बताइन्छ । स्रोत अनुसार नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहेने निर्णय गरेको बताइएको छ ।

आयोग स्रोतले भनेको छ , ‘साबिकको निर्णयलाई कायम गर्ने निर्णय भएको छ । पछिल्लो चरणमा भएको परिवर्तन हेरफेरलाई आयोगले मानेन । केपी ओलीलाई कारबाही गरेको पनि आयोगले मानेन । माधव नेपाललाई अध्यक्ष बनाएको पनि मानेन ।’ती उच्च अधिकारीका अनुसार निर्णयबारे ओली र प्रचण्डलाई सोमबार पत्र पठाइनेछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा राजनीतिक रुपमा विभाजित छ ।