पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाका ब्यवसायीको साझा संस्था म्याग्दी उवासंघ बजार इकाईको प्रथम अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार धवलागिरी गाउँपालिका–७ ताकममा आयोजित अधिवेशनबाट उपाध्यक्ष नरेश पौडेल, सचिब मदन मल्ल, कोषाध्यक्ष सरस्वती पौडेल, सह–सचिव ओमकार पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा होमबहादुर थापा, बुद्धिबहादुर थापा, बासुदेब आचार्य, फुलबहादुर विक, लालबहादुर सुनार, भक्तबहादुर पुन, तेजबहादुर पूर्जा, आनन्द जैशी, आमन्त्रित सदस्य सकबहादुर पुन र गंगा सुबेदी रहेको म्याग्दी उद्योग वाणिज्य संघमा महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गदैं नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठले पश्चिम म्याग्दीमा साना उद्योग सञ्चालनको प्रसस्तै सम्भावना रहेको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले पश्चिम म्याग्दीका ब्यवसायीलाई संगठित गदैं कृषि, पशुपालन, ग्रामिण पर्यटन, होटल ब्यवसायी, प्राकृतिक रुपमा उत्पादन हुने विभिन्न जडिबुटीको बजारका लागि सहयोग गर्ने बताउनुभयो ।

उहाँले विगतमा म्याग्दी महोत्सवमार्फत स्थानीय तहका उत्पादनलाई बजारीकरणमा सघाएको बताउँदै भविस्यमा समेत इकाईमार्फत थप काम गर्न सकिने बताउनुभयो ।

अधिवेशनको अवसरमा म्याग्दी उवासंघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, मोना आईईसीका निवर्तमान अध्यक्ष चक्र थापा,वडा नं ७ का वडा सदस्य अमृता भण्डारी, नेकपाका खुम बहादुर थापा, नेपाली काँग्रेस समन्वय सदस्य तेजेन्द्र थापा,लुलाडका व्यवसायी कुल बहादुर विक, ईलाका प्रहरी कार्यलय दरबाड. ईन्चार्ज सन्तोष पौडेल, कृषि शाखा प्रमुख आश्विन केसी, धौलागिरी गाँउपालिका स्रोत व्यक्ति गिरी छन्त्यालले मन्तब्य राख्नुभएको थियो ।

बजार ईकाईका किरण थापाको अध्यक्षता, होम ब. थापाको स्वागत र तेजेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको अधिवेशनमा म्याग्दी उवासंघका द्धितिय उपाध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष अमित बानियाँ लगायतको उपस्थिती रहेको थियो । म्याग्दी उवासंघले इकाईसँग समन्वय गरी बाढीपहिरो प्रभावितलाई १ लाख र इकाईकलाई १५ हजार सहयोग समेत गरेको थियो ।