कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका ६० देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार ७० देशमा पुगेको नयाँ प्रकारको संक्रामक भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले अघिल्लो महिना बेलायतमा भेटिएको कोभिड-१९ को नयाँ भेरियन्टलाई थप खतरनाक बताएको छ । संगठनका अनुसार बेलायतमा पाइएको भेरियन्ट हालसम्म ७० देशमा फैलिसकेको छ । यो भाइरस बढी घातक छ किनभने यो पुरानो भाइरसको तुलनामा तीब्र गतिमा फैलन्छ ।

संगठनले यो नयाँ भेरियन्टको नाम B.1.1.7 या VOC 202012/01 राखेको छ । बेलायत, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्डमा यो नयाँ भेरियन्टका संक्रमित तीब्र रुपमा कम पनि भइरहेकाे छ ।

बेलायतका पाइएको भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको भेरियन्टभन्दा भिन्न छ । डब्ल्यूएचओका अनुसार दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट त्यति तीब्र गतिमा फैलिँदैन । दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट ३१ देशसम्म पुगिसकेको छ ।

डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा अघिल्लो हप्ताको तुलनामा संक्रमितको संख्यामा १५ प्रतिशतको कमी आएको बताएको छ । संगठनका अनुसार महामारी सुरु भएपछि एक हप्तामा दर्ता गरिएको यो सबैभन्दा कम दर हो ।अघिल्लो हप्ता संसारभरी कूल ४१ लाखमा संक्रमण देखिएको संगठनले जानकारी दिएको छ । रिपोर्टका अनुसार संसारभरी पछिल्लो हप्ता भएको कूल मृत्युदरमा अमेरिकामा मात्रै ४७ प्रतिशत छ ।