नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले निर्वाचन आयोगलाई दल दर्ता र चुनावको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। शुक्रबार निर्वाचन आयोगमा भएको छलफलमा ओली समूहका तर्फबाट सहभागी भएका नेताहरुले चुनावका लागि आयोगले गरेको तयारी र दल दर्ताको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेका हुन्।

आयोगले दल दर्ता र निर्वाचन प्रक्रियाका लागि नेकपाका दुवै समूह (प्रचण्ड–नेपाल र ओली समूह) लाई आज छलफलका लागि बोलाएको थियो। तर, प्रचण्ड–नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल राजनीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर रहेकाले माघ १८ गतेपछि मात्र छलफलमा आउनसक्ने जनाएको छ।

ओली समूहका विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुले भने आयोग पुगेर छलफल गरेका हुन्। छलफलमा उनीहरुले सर्वोच्च अदालतबाट आदेश जारी भइनसकेकाले आयोगले निर्वाचनको प्रक्रिया बढाउनुपर्ने बताएका छन्।

छलफलपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेता नेम्वाङले चुनाव गराउन निर्वाचन आयोग पूर्ण रुपमा तयारी रहेको बताए। आफूहरुले पनि चुनाव गराउन साथ र समर्थन रहने बताएको उनको भनाई छ। ‘हामी तोकिएको समयमा नै चुनाव गर्छौं भन्नुभएको छ,’ आयोगका पदाधिकारीलाई उद्धृत गर्दै उनले भने,‘त्यसमा हाम्रो पनि सहयोग र समर्थन रहनेछ।’

उनले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिता दिएको पनि दाबी गरे। केहीदिनअघि आयोगले नेकपाका दुवै समूहले गरेको फेरबदललाई अस्वीकार गरेको थियो। प्रचण्ड–नेपाल समूहले पनि आफूहरु आधिकारि भएको दाबी गर्दै आएका छन्।

गत पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भइसकेको छ।