बेनी नगरपालिकाको आयोजना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको अभिमुखीकरण सम्पन्न भएको छ । लक्षित समूहको चाहना तथा मागको आधारमा कार्यक्रमको विषयमा जानकारी गराउने उद्देश्यसहित शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाको विभिन्न वडाबाट बेनपा ८ बेनीबजारमा बसोबास गर्ने एकल महिलाहरु गरी करिब ३० जनाको सहभागिता रहेको थियो । अभिमुखीकरणपश्चात् उद्यमसिलता विकास तालिम, कार्यक्रममार्फत सिप सिक्नका लागि एकल महिलाहरुलाई प्रविधि उपलब्ध गराउने, उद्यम गर्न इच्छुक महिलालाई लघुवित्तमा पहुँच बढाइने जस्ता उद्यमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बेनी नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र प्रवक्ता तथा बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीको विशेष उपस्थिति रहेको अभिमुखीकरण कार्यक्रमको उद्यम विकास सहजकर्ता सरिता रेग्मी शर्माले सहजीकरण गरेकी थिइन् ।