गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताएका छन् । शनिबार ओली समुहले चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईँ जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।’ उनले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले  पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।

आम नागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उनको भनाइ छ । उनले भने, ‘उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौँ । स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौँ ।’ पार्टी छाडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन  गृहमन्त्री थापाले आग्रह  गरे । ‘आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन्’, उनले भने ।