बेनीको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण प्रक्रिया पुरा भएपछि एटिएम सहितको सेवा सुरु गर्ने भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीको क्याम्पसचोकमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्रमा एटिएम सेवा सहित अत्याधुनिक सेवा सञ्चालन गर्ने सहकारीले जनाएको छ ।

सहकारीले बेनीमा मंगलवार पत्रकार सम्मेलन गरि बेनीमा एक समारोह आयोजना गरी बुधवार सहकारीको एकिकरण र सेवा केन्द्रको औपचारिक सुभारम्भ गरिने केन्द्रका संयोजक तुलसीनाथ सुवेदीले जानकारी दिए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले सहकारीमार्फत नाफा मात्रै नभई सामाजिक उत्तरदाहित्व अन्तरगका कार्यहरुलाई समेत प्राथमिकता दिनुपर्ने बताए ।

सिवाईसीसंग एकिरण भएपछि नमस्ते सहकारीका सञ्चालक समिति सिवाईसीको सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन उपसमितिको रुपमा रहने सहमती भएको छ । बेनीको नमस्ते सहकारीमा ७४ जना शेयर सदस्यको रु १ करोड १२ लाख रुपैयाँ शेयर पुँजी रहेको थियो ।

एकिकरण पछि बेनीमा सञ्चालन हुने सिवाईसीको १७ औँ सेवा केन्द्रमा एटिएम काउण्टर समेत सञ्चालनमा ल्याउने तयारी गरिएको सिवाईसीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । हुनेखानेको पैसा हुँदा खानेसम्म पु¥याउने र हुँदा खानेलाई हुनेखाने बनाउने उदेश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभाबकारी बनाउँदै आएको उनले बताए ।

उनले प्रदेशस्तरीय सहकारी बनाउने अभियानमा जुटेको बताए । १३ हजार ४४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी , एक अर्ब २७ करोड १६ लाख २५ हजार ६६५ बचत संकलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ ।

सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल, इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको सहकारीका सञ्चालक समितिका सह–सचिब सुवास आचार्यले बताए । सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ ।

विहान ७ बजेदेखि बेलुकि ७ बजेसम्म नै सेवा प्रवाह गर्दै आएको यस सहकारीले आकस्मिक फोन सेवा मार्फत समेत वित्तिय सेवा प्रवाह गर्दै आएको छ । सहकारीको बेनीमा रहने सदस्य सेवा केन्द्रको बुधवार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।