शुक्रबार बिहानदेखि परेको झरीसँगै गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। हिमपात र झरीले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। सदरमुकाम जोमसोममा भने शुक्रबार साँझसम्म हिमपात भएको छैन। उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ क्षेत्रमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी हीरा पौडेलले बताइन्।

हिमपातका कारण स्थानीय घर बाहिर निस्किन सकेका छैनन्। मुस्ताङको लेतेमा समेत हिमपात भएको छ। हिमाली जिल्ला म्याग्दीका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको हाम्रा सहकर्मीले जनाएका छन्।

उपल्लो मनाङमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। तल्लो मनाङको चामेसम्म हिमपात भएको चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले जानकारी दिए।

शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको थियो। गोरखाको पहाडी क्षेत्रमा हिमपात भएको स्थानीय रेडियोहरुले जनाएका छन्। बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात भएको छ। बिहानैदेखि शिकार आरक्ष क्षेत्र सेताम्मे देखिएको छ।

ताराखोला, तमानखोलाको सोलेडाँडा र लामेला हिमपात भएको छ। घुम्टेको डाँडामा हिमपात भएको स्थानीयले जानकारी दिए। पानी नपरेकोले हिउँदेबालीमा समस्या परेको किसान बेदु किसानले बताए। पानी अभावले तोरी, गहुँ, फापरजस्ता खेती बिग्रेकोले झरीले साथ दिने उनले बताए।

झरी र हिमपातका कारण ढोरपाटन क्षेत्रमा मानिस घर बाहिर निस्कन नसकेपछि भित्रै छन्। झरीका कारण पशुचरनका लागि निस्कनेहरु पनि भित्रै बसेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए। उत्तर पर्वतमा पनि सामन्य हिमपात भएको छ। हिमपातले किसान खुसी छन्।