बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौं नगरसभाले कुल ६६ करोड संसोधिन बजेट पारित गरेको छ । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २ सय ६४ रुपैयाँको बजेटमा संघीय अनुदान, राजश्व लगायतका शिर्षकबाट समेत थप गरी ६६ करोड ७ लाख ४६ हजार ४४२ रुपैयाँ संसोधित बजेट सभाले पारित गरिएको हो । उपमेयर सञ्जु बरुवालले प्रस्तुत गरेको बजेट नगरसभाले सर्वसम्मतिले पारित गरेको थियो ।

नगरसभामा संचित कोषमा जम्मा भएको २ करोड ७६ लाख ८८ हजार ४७० रुपैयाँ, पदाधिकारीको अन्य सुविधा, विविध खर्च, विपन्न खर्च, कार्यपालिका बैठकबाट विभिन्न समयमा पारित आकस्मिक सडक मर्मतमा १ करोड ९० लाख ८० हजार, बेनपा–८ क्याम्पसचोकमा वडा कार्यालयका लागि मुआब्जामा ७२ करोड ७३ लाख समेत अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । नगरसभामा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धि ब्यवस्था गर्न बनेको विधेयक समेत पारित गरिएको छ । नगरसभामा मेयर हरिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाको उपलब्धी र प्रगति प्रस्तुत गदैं नगरपालिकाका योजनाहरुलाई प्रभावकारी कार्यान्वयनमा जोड दिए । मेयर श्रेष्ठले नगरपालिकामा कोरोनाको जोखिम तथा अन्य विभिन्न समस्याले समस्या भएपनि विकास निर्माण सहितका नगरभित्रका योजनाहरु समयमै सम्पन्न गर्ने गरी अगाडी बढ्ने बताए । नगरकार्यपालिका सदस्यले आफ्नो भनाई राखेका थिए ।