पछिल्लो समय वैदेशिक रोजगारीको लागि आर्कषक गन्तव्य मानिने यूरोपेली राष्ट्र रोमानियामा रहेका म्याग्देली संगठित भएका छन् । रोमानीयामा हुने विभिन्न नेपाली कार्यक्रमसँगै जन्मभूमि म्याग्दीमा सहयोग तथा समस्यामा परेका म्याग्देलीलाई सहयोग गर्ने उद्देश्यले एक भेलाले म्याग्दी समाज रोमानीया गठन गरेको छ ।

रोमानियामा आउने म्याग्देलीको संख्या ह्वात्तै बढेपछि आवश्यक सहकार्य र सक्रियताका लागि प्रारम्भीक समिति गठन गरी अगाडी बढेको भेलाका संयोजनकर्ता विजय कुँवरले बताए । ‘अहिले समिति चयन गरेका छैनौ,‘सबै म्याग्देलीलाई संस्थाभित्र जोड्ने गरी अभियानमा छौ’ कुँवरले भने । उनले रोमानीयमा रहेका म्याग्देलीलाई संस्थाको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।

‘यो संस्थालाई हामी बस्ने ठाउँको दुखसुखको साथी बनाउन चाहन्छौ,‘सबै यहाँ आवद्ध हुन अपिल समेत गर्छु’ उनले भने। प्रारम्भीक भेलामा २२ जनाको उपस्थिती रहेको थियो । प्रतिकुल मौसमका कारण सबै म्याग्देली भेला हुन नसकेको अवस्थामा दुई महिना भित्र एक कार्यक्रम गरी प्रथम अधिवेशन गरिने छ । भेलामा अजय श्रेष्ठ, तारा भण्डारी पुर्जा, सुरज भण्डारी, गणेश बुढा लगायतको उपस्थिती रहेको थियो । यसैबीच भेलाले बेनपा–९ काउलेगौडाका ब्लडक्यान्सर पीडित शिवम् चोखाललाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।