सुन्तला उत्पादनमा पकेट क्षेत्र मानिने बेनी नगरपालिका-३,भकिम्लीस्थित राखु क्षेत्रका यसबर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । औँसा कीराको प्रकोप, असिनापानीले यसबर्ष करिब आधाभन्दा बढी सुन्तलाको उत्पादन घटेको कृषकले बताएका छन् । फल टिप्ने समयमा सुन्तला बगैचामा फैलिएको औँसा कीराको प्रकोपले राखुका किसानलाई ठूलो नोक्सानी भएको स्थानीय डेकबहादुर घर्ती मगरले बताए ।

‘गतबर्षको तुलनामा आधा पनि उत्पादन भएन्,‘सबैजसो किसान निरास छन्’ उनले भने। सुन्तलाको पकेट क्षेत्रमै ठूलो क्षती भएपछि राखुका किसानले न्यूनतम ५ हजार देखि साढे १ लाखसम्म सुन्तला विक्री गरेका छन् ।राखुमा सबैभन्दा धेरै सुन्तला कुलबहादुर गर्बुजा, भिमकुमारी घर्ती, मनकुमारी पुन, जगबहादुर घर्ती, जसिकला रोका लगायत करिक एकदर्जन किसान छन् । तल्लो र माथिल्लो राखुका किसानले गतबर्ष ७० लाखको सुन्तला विक्री गरेकोमा यसबर्ष करिब ३० लाख बराबरको सुन्तला विक्री भएको स्थानीय अगुवा किसान मनकुमारी पुनले बताईन् ‘ ‘औँसा कीराको प्रकोपबाट जोगाउन धेरै प्रयास गरेपनि सफल हुन सकिएन्,‘गतबर्ष वडाभरीबाट करिब १ करोडको सुन्तला बजारमा गएको थियो’ उनले भनिन् । यसबर्ष भकिम्लीको मरेक, पानीस्वाँरा, ज्यामिरे,हल्लेगौडामा समेत उत्पादन घटेको छ ।

पाक्ने समयमा बोटका पँहेला भएका सुन्तला झर्ने समस्याले सुन्तलाको स्वादमा समेत कमी आएकाले ब्यापारीले समेत विगतमा भन्दा सस्तोमा खरिद गरेको स्थानीयको भनाई छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । विरुवा रोपेको ६÷७ वर्षमै सुन्तलाले उत्पादन दिन्छ । जिल्लाका ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ ।