म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटका २५ बर्षिय मृर्गौला पिडित सुरेश पुनमगरलाई यूकेबाट २ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । आर्थिक अभावका कारण नियमित उपचार तथा औषधी सेवनमा समस्या झेल्दै आएका पुनमगरलाई यूकेमा रहेका समाजसेवी खिमबहादुर पुनको अगुवाईमा संकलन भएको २ लाख १५ हजार शुक्रबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गरिरहेका पुनमगरका पिता जगत पुनलाई सकबहादुर बुढाथोकीले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पीडितका बुबा जगतले स्वदेश तथा विदेशमा रहेका निस्कोटबासीको पहलमा छोराले नयाँ जीवन पाउने वातावरण बनेको बताए ।

त्यस्तै यूकेमा रहेका आर्थिक संकलनकर्ता खिमबहादुरले उपचारमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गदै आर्थिक अभाव कारण उपचारबाट बन्चितु हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । बैदेशिक रोजगारीको शिलशिलामा दुई बर्ष अघि मात्र कुवेतबाट फर्किएका पीडितले उपचारमा प्राप्त सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

‘मैले पैसा कमाउनुपर्नेमा रोग लिएर आए, परिवारमा ठुलो बज्रपात परेको छ,‘मृगौला प्रत्यारोपणपछि नियमित काम गरेर जीवन निर्वाह गर्छु’ उनले भने । नियमित डायलासिस गर्न, महंगो इन्जेक्सन सहितका औषधीको प्रयोग गर्नुपर्ने भएकाले सहयोग आवश्यक रहेको उनले बताए । यसैबीच समाजसेवी खिमबहादुरको पहलमा निस्कोटकै अर्का मृगौला पीडित चित्रबहादुर पुनलाई समेत २ लाख १५ हजार संकलन गरिएको छ । उक्त सहयोग पोखरामा एक कार्यक्रम गरी हस्तान्तरण गरिने छ ।