गरिमा विकास बैंकको १४औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा म्याग्दीका यूवा ब्यवसायी दिपेन्द्र श्रेष्ठ ‘दिपु’ चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न भएको साधारणसभामा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्बसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी ६ जना संचालकहरु निर्बिरोध निर्वाचित भएको बैंकले जनाएको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंकलाई गाभेको गरिमामा संस्थापक सेयरसदस्यको तर्फबाट श्रेष्ठ सर्वसम्मतिले चयन भएका हुन् । यसअगाडी श्रेष्ठ ग्रिन डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा थिए ।

उक्त बैंकको सञ्चालक समितिबाट राजिनामा दिएपछिको समयअवधी पुगेकाले गरिमा सञ्चालक भएका हुन् । बैंकको अध्यक्षमा श्याम प्रसाद वश्याल चयन भएका छन् भने अन्य संचालकमा संस्थापक सदस्यको तर्फबाट डा आनन्द श्रेष्ठ,सर्वसाधारणको तर्फबाट संजीव ढकाल, बिमल पाण्डे, महिलाबाट सरस्वती पाठक, बिमल पाण्डे रहेका छन् ।

साधारण सभाले १४.२१ प्रतिशत लाभांश समेत पारित गरेको छ । गरिमाको म्याग्दीको सदरमुकाम बेनी, मंगला गाउँपालिकाको बावियचौर, मालिका गापाको दरबाङ र अन्नपूर्ण गापाको पोखरेबगरमा शाखा रहेको छ । म्याग्दीमा सबैभन्दा धेरै सेवाग्राही, रेमिट्यान्स सहित कारोबार गर्नेमा गरिमा अग्रस्थानमा रहेको छ ।