सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार म्याग्दीलाई क्षेत्रीयस्तरको भलिबल प्रतियोगितामा म्याग्दीलाई उपाधी जिताएकी अरूणा शाहीको नेतृत्वमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिवल प्रतियोगितामा म्याग्दी फाइनलमा प्रवेश गरेको छ ।

नवलपुर, स्याङ्जा र तनहुँलाई पराजित गदैं फाइनलमा पुगेको टोलीमा शाहीसँगै राष्ट्रिय भलिबल खेलाडी कमला पुन, क्षेत्रीय खेलाडी पवित्रा विसी जस्ता अनुभवी खेलाडीलाई नयाँ र पहिलोपटक क्षेत्रीयस्तरको खेल खेल्दै गरेका खेलाडीले समेत भरपुर साथ दिएका छन् ।

अरुणाको टोलीमा पुन सेटर, बिसी स्पाइकरको भूमिकामा छिन् । प्रतियोगिता सुरू हुनुभन्दा एक सातासम्म गरिएको बन्द प्रशिक्षणमा समेत टोलीमा सहभागि खेलाडीलाई साथ र सीप हस्तान्तरणमा सदुपयोग गरिन् । राष्ट्रिय भलिबल टोलीकी कप्तान भएपनि शाहीले नयाँ खेलाडीसँगै प्रशिक्षणमा जुटिन् ।

अनुभवी र नेपाली महिला भलिबललाई अन्तराष्ट्रियस्तरको खेलमा स्थापित बनाउन सफल शाहीसँगै नयाँ खेलाडीले रम्दै प्रशिक्षणमा सहभागी समेत भए । नियमित जस्तो भलिबलको ‘सेल्फ प्रशिक्षण’मा जुट्ने गरेकी शाहीलाई राष्ट्रिय भलिबल टोलीको कप्तान भएकोमा कुन घमण्ड पनि छैन् ।

उनी आफ्नो सीप हस्तान्तरण र खेलाडीलाई प्रोत्साहनमा आवश्यक परेको समय दिन्छिन् । प्रशिक्षण र खेलमैदानभित्र शाहीले आफ्नो टोलीको खेलाडीको लय, समन्वय र शारीरिक सन्तुलनसँगै आत्मविश्वास र मनोवैज्ञानिक पक्षलाई ख्याल गर्ने गरेकी छन् ।  उनले खेलमैदान भित्र विपक्षको कमजोर पक्षमा प्रहार गर्न तत्काल रणनिति बनाउने भएकाले पनि अन्य खेलाडीले समेत ढुक्क भएर खेल्ने गरेको देखिन्छ ।

महिला भलिबलमा सधै निराशजनक नतिजा लिएर घर फर्किने गरेको म्याग्दीले पछिल्ला केहीबर्ष यताका प्रदेशस्तरीय खेलहरूमा आफ्नो बलियो उपस्थितिसँगै सजिलै च्याम्पियन बन्न अनुभवी खेलाडीको समय,मेहनत र प्रशिक्षकको सक्रियता नै प्रमुख कारण बन्ने गरेको छ ।

सातौं खेलकुदमा शाहीले म्याग्दीको खुल्लामञ्चबाटै आफ्नो जिल्लालाई पहिलोपटक क्षेत्रीयस्तरको उपाधी दिलाउँदा उनले हरेक क्षेत्रीय र राष्ट्रियस्तरको प्रतियोगितामा म्याग्दीको टोलीबाट सहभागि हुने प्रतिबद्धता अनुसार नै निरन्तर टोलीको नेतृत्व गरिरहेकी छन् ।

राष्ट्रिय टोलीकी क्याप्टेन जिल्लाबाट खेल्ने भन्दै गरिने आलोचनालाई समेत उनले बेवास्ता गर्ने गरेकी छन् । ‘मैले जिल्लालाई उपाधी जिताउन सक्ने सबै मेहनत गर्छु,‘देशका लागि जित्दा पनि पहिलो जिल्ला नै सम्झिन्छु’ शाहीले भनिन्। टोलीमा ओपन स्पाइकर र सेटरको भूमिकामा देखिने शाहीको उपस्थितीले अन्य खेलाडीलाई समेत उर्जा थपिन्छ ।

अरुणा खेल्ने भनेपछि म्याग्देली पनि खेल हेर्न र जित्नेमा ढुक्क हुन्छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्ड विजेता समेत रहेकी शाहीले उक्त प्रतिस्पर्धामा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले दिएको साथले थप जिम्मेबारी थपिएको बताईन् ।

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउन सफल भएकी थिईन् । बि.स २०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेलमा प्रवेश गरेकी शाहीले क्षेत्रीयस्तरको खेलमा सहभागि हुदै राष्ट्रिय टोलीमा पुगेकी थिईन् । कभर तस्वीर सौजन्य: पोखरा सिटी डटकम