गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिवल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । पोखरामा जारी प्रतियोगिताको शनिबार सम्पन्न खेलमा ०-३ सेट प्रहार गदैं म्याग्दीले उपाधी जितेको हो । प्रतियोगितामा अपराजित यात्रा कायम राखेको म्याग्दीले पर्वत बिरुद्ध सुरुवात देखिनै हाबी भएको थियो ।

राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, राष्ट्रिय खेलाडी कमला पुन र क्षेत्रीय खेलाडी पवित्रा सिर्पालीको सहित नयाँ खेलाडीलाई मैदानमा उतारेको म्याग्दीले पर्वतलाई एक सेट पनि आफ्नो पक्षमा पार्न दिएन् ।

ओपन स्पाइकर र सेटरको भूमिकामा देखिने कप्तान शाहीसँगै सेटर पुन र सिर्पालीको लय, समन्वय र शारीरिक सन्तुलनसँगै अन्य खेलाडीको उत्कृष्ट खेलले म्याग्दीलाई प्रथम मुख्यमन्त्री कपको उपाधी जित्न बल पुगेको छ । म्याग्दीमा खेलाडीले सर्भिस र प्रहारमा केही हेल्चेक्राई गरेपनि सम्रग खेल अवधीभर उत्कृष्ट खेल देखाउन सफल भएका थिए ।

महिला टोली आत्मविश्वास र मनोवैज्ञानिक पक्षले समेत खेलमा भूमिका खेलेको थियो । महिला भलिबलमा म्याग्दीले गण्डकी प्रदेशमै उत्कृष्ट खेल देखाउन सफल भएको छ ।

म्याग्दीले उद्घाटन खेलमा नवलपुर, क्वाटरपाइनलमा स्याङ्जा र सेमिफाइनलमा तनहुँलाई सजिलै पराजित गरेको थियो। प्रतियोगिता अगाडी करिब १ साता बन्द प्रतिक्षणमा बसेका खेलाडीले खेलमा तय गरेको रणनीतिले काम गरेको मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँले बताए । ‘अनुभवीसँगै नयाँ खेलाडीको खेल निकै उत्कृष्ट छ,‘यो जितले म्याग्दीको भलिबल खेललाई नयाँ उचाईमा पुर्याउने छ’ बानियाँले भने । पहिलोपटक सिधै क्षेत्रीयस्तरको खेलमा पुगेका खेलाडीले समेत राम्रो मेहनत गरेका थिए । प्रतियोगिताको बिजेता महिला टोलीले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।