नेपाल बैंक बेनी शाखामा सुरक्षा गार्डको रूपमा कार्यरत बेनी नगरपालिका–६,जरबुटाका ३२ वर्षिय नारायण जिसी शनिबार विहान रात्री डिउटी सकेर सिधै बारीमा पुगे । घर नजिकै बारीमा टनेलभित्र लटरम्म फलेको गोलभेंडा टिप्न थाले। दिउँसो जागिरमा जाँदा बिहान बेलुकी र रात्री डिउटी परेको समयमा दिनभरी तरकारी बारीमै बिताउँछन् ।

जागिर बाहेक बचेको समयलाई सदुपयोग गदैं आधा दशक अगाडीदेखि सुरू गरेको तरकारी र पशुपालनले विस्तारै ब्यवसायिक रूप लिएपछि जिसी दंग छन् । उनले माछापालन समेत सुरू गरेका छन् । बाँझो जग्गामा प्रांगरिक मल र जैविक विषादीको प्रयोग गरी सुरू गरेको तरकारी खेतीबाट मनग्य आम्दानी गरेका छन् ।

तरकारी खेतीका लागि पाँचवटा हाइटेक प्रविधिको टनेलभित्र उत्पादन हुने तरकारीबाट मात्रै उनले बार्षिक साढे ३ लाखसम्म आम्दानी गर्ने गरेको बताए । २०७२ सालमा खानेपानीको समेत राम्रो सुविधा नभएको पाखाको वस्तीमा बेमौसमी तरकारी खेती गर्दा जिसीलाई धेरैले जिस्काए ।

अहिले भिरालो जमिनमा रहेको खेतका गह्रामा बेमौसमी तरकारी खेती भएपछि आश्चर्य चकित भएका छन् भने सीप र प्रविधिको जानकारी लिएर ब्यवसाय पनि सुरु गरेको जिसीले बताए । उनले उन्नत जातका टमाटर, काँक्रो, घिरौंला, केराउ, बोडी, सिमी, लगायत तरकारीको बीउ समेत बिक्री गर्ने गरेका छन् ।

हरेक बर्ष खर्च कटाएर पशुपालन र कृषिबाट ५ लाखसम्म आम्दानी गर्ने गरेका जिसीले कृषि पेशालाई व्यवसायिक र प्रविधिमैत्री पनि बनाउनु पर्छ भन्ने मान्यताका साथ नजिकै खोलाबाट मोटरको प्रयोग गरी पानी ल्याउन पोखरी समेत बनाएका छन् ।

‘जागिरको कमाईले मात्रै पुग्दैन्,‘सामान्य कृषि ज्ञान भएकाले पनि प्लास्टिक घरभित्र तरकारी फलाउन सकिन्छ’ जिसीले भने ।बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हुँदा अहिले बेमौसमी उत्पादनलाई महत्व दिएको उनले बताए ।

‘मैले तरकारी खेती रोज्दा विदेशमा गएका साथीहरूले अहिले मेरो निर्णयलाई सम्मान गरेका छन्,‘मैले सुरु गरेको ब्यवसायी स्थायी हो, विदेशको जागिर अस्थायी भन्ने उनीहरुले बुझिसके’ जिसीले थपे ।

जागिरलाई सम्बन्ध विस्तारको रूपमा मात्रै लिएको बताउँदै जिसीले तरकारी खेती र दुध विक्रीबाट हुने आम्दानीबाट पूर्णरुपमा सन्तुष्ट रहेको बताए । जीआई पाइपको प्रयोग गरी संरचनाको मुख्य खाँबा र धुरी निर्माण गरिएको संरचनाभित्र ८ वर्षसम्म तरकारी उत्पादन गर्न सकिने भएकाले हाइटेक प्रविधिको प्रयोगमा जोड दिएको बताए । उत्पादित टमाटरको बजारको पनि समस्या छैन।

८० देखि एक सय रुपैयाँ किलोमा टमाटर बिक्री भइरहेको छ । एउटै बोटमा ६ केजीभन्दा बढी फल्ने गरेको बताए । हाइटेक प्रविधिमा जनशक्ती समेत कम लाग्ने भएकाले उनलाई परिवारका सदस्यले मात्रै सघाइरहेका छन् । थोपा सिचाईको नमुना प्रयोग गरेका जिसीले कृषिमा सीप आदान–प्रदानको वातावरण नभएपनि आफुँले यूवाहरुलाई सक्ने सहयोग गरेको बताए ।कृषि र पशुपालन तालिम लिएर मात्रै बस्ने र धन कमाउनका लागि दैनिकजसो विदेश पलायन हुने यूवाहरूलाई कृषि र पशुपालनमा लाग्न समेत जिसीले सुझाव दिए । उनले टनेलको संख्या दोब्बर बनाउने र माछापालनको परीक्षण सफल भएका ४ वटा पोखरी थप गर्ने योजना समेत बनाएका छन् । तरकारी खेतीको उत्पादन बढाउनका लागि र रोग किराको प्रकोप हुन नदिन बास्तविक कृषकको पहिचान गरी तालिम र अनुदानमा जोड दिनुपर्ने जिसीको भनाई छ ।