पोखरामा सम्पन्न मुख्यमन्त्री कप अन्तरगत महिला भलिबलको उपाधीसँगै तीनवटा विधामा म्याग्दी सर्वोत्कृष्ट घोषित भएको छ । शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा म्याग्दीले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो।

पर्वतलाई २५–१४, २५–१५ र २५–१७ को सेटमा पराजित गर्दै दुई लाख नगद राशीको उपाधि आफनो पोल्टामा पारेसँगै महिला तर्फ सर्वोत्कृष्ट खेलाडी म्याग्दीकी अरुणा शाही घोषित भईन्।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान समेत रहेकी शाहीको कप्तानीमा म्याग्दीको टोलीले सानदार खेल प्रर्दशन गरेको थियो । त्यस्तै सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित भए । पुन नेपाली राष्ट्रिय महिला भलिबलकी सदस्य एवम् अनुभवी खेलाडी हुन् भने बानियाँले अन्तराष्ट्रियस्तरको प्रशिक्षण प्रमाणपत्र प्राप्त प्रशिक्षक हुन् ।

खेलाडी पुनले कप्तान शाहीसँगै नेपालका लागि विभिन्न अन्तराष्ट्रिय खेलका साथै विभागीय टोली अन्तरगत नेपाल प्रहरीबाट समेत धेरै राष्ट्रिय खेलमा सहभागी भएकी छन् । विजेता खेलाडीहरुलाई नगद ५÷५ हजारसहित ट्रफी र पदक प्राप्त गरिएका थिए ।

प्रशिक्षक बानियाँको प्रशिक्षण तथा शाहीको कप्तानीमा खेलमा सहभागि हुन अगाडी एक सातासम्म बन्द प्रशिक्षणमा समेत सहभागि भएका थिए ।  ‘उत्कृष्ट तीन विधा म्याग्दीले पाएको छ, पुरुषतर्फको खेलमा प्राविधिक पक्ष कमजोर हुदाँ जित्ने अवसर गुम्यो’ म्याग्दी टोलीका ब्यवस्थापक राजकुमार भण्डारीले भने ।

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राई लगायतको उपस्थिती रहेको थियो । यसपटक म्याग्दीले पुरुष भलिबलमा तेस्रो हुने अवसर गुमाएपनि महिला भलिबलमा गण्डकी प्रदेशमै आफ्नो फरक पहिचान स्थापित गर्न सफल भएको छ ।