बेनी नगरपालिका-६,जरबुटाका नारायण जिसीले जीआई पाइप,खाँबा र धुरी निर्माण गरी तरकारी खेती गरेका छन् । पाँचवटा टनेलभित्र तरकारी खेती गरिरहेका जिसीसँग दुई हाइटेक प्रविधिको टनेल छ । भिरालो जमिनलाई समथर बनाएर एउटा हाइटेक प्रविधिको टनेलमा ३ लाख सम्म खर्चिएका जिसीले संरचनाभित्र ८ वर्षसम्म तरकारी उत्पादन गर्न सक्छन् ।

टनेलभित्रको संरचना समेत निकै मजबुद छ भने थोपा सिचाई सहितको सुविधाले समेत उत्पादन अन्य टनेलमा भन्दा तेब्बर रहेको जिसी बताउँछन् । बाँझो र कडा चट्टान नजिकै तरकारी खेती गरेका जिसीले हाइटेक प्रविधिको प्रयोग गरी बेमौसमी गोलभेंडा उत्पादन गरिरहेका छन् ।

लटरम्म फलेको गोलभेंडाको एउटा बोटबाट उनले ६ केजीसम्म बिक्री गरेका छन् । प्रांगरिक मल र जैविक विषादीको प्रयोगले उत्पादनमा बृद्धि भएको छ भने उपभोक्ताले समेत धेरै माग गर्ने गरेका छन् ।

हाइटेक प्रविधिमा जनशक्ती समेत कम लाग्छ । हावाहुरीले समेत अन्य टनेल भन्दा कमै असर गर्ने, पानीको निकास गर्न सजिलो हुने र संरचना समेत एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ । हाइटेक प्रविधिमा विरुवालाई चाहिने चिस्यान, तापक्रम लगायत उत्पादनमा सघाउने सबै कुराहरु मिलाइएकाले केृष खेतीमा विश्वभरी यो प्रविधिलाई आधुनिक र उच्चतम प्रविधिको टनेलको रुपमा लिने गरिन्छ ।

म्याग्दीमा पछिल्लो समय हाइटेक प्रविधिको प्रयोग ह्वात्तै बढेको छ । स्थानीय तहमार्फत समेत अनुदान र तालिम सहितको सुविधाले समेत लगानी अनुसारको आम्दानी हुने भएकाले यो प्रविधिको प्रयोगमा कृषक आर्कषित भइरहेका छन् ।