प्रथम मुख्यमन्त्री कप महिला भलिबलको उपाधि विजेता म्याग्दीका खेलाडीलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भेटघाट गर्नुभएको छ ।

प्रतियोगितामा म्याग्दीलाई विजय बनाउँदै भलिबलमा म्याग्दीको सम्भावना र क्षमतालाई देखाउन सफल भएको भन्दै मन्त्री पुनले खेलकुदको क्षेत्रमा सक्ने बजेट विनियोजन तथा खेलाडीको प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

‘मैले सक्ने सहयोग गर्छु,‘भलिबल क्षेत्रमा म्याग्दीमा प्रशिक्षण केन्द्रको रुपमा समेत अगाडी बढाउन आवश्यक बजेट विनियोजनमा पहल गर्छु’ मन्त्री पुनले भन्नुभयो । भलिबलको क्षेत्रमा प्रदेशमा म्याग्दीले राम्रो खेल देखाउन सफल भएकाले अव बजेटको माग गर्न समेत सहज हुने मन्त्री पुनको भनाई छ ।

सम्मान कार्यक्रममा जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक तेजेन्द्र बानियाँ, कप्तान अरुणा शाही सहित खेलाडी, ब्यवस्थापकको उपस्थिती रहेको थियो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान समेत रहनुभएकी शाहीले खेलकुदमा प्रयाप्त बजेट विनियोजन गर्न माग गर्नुभएको थियो ।

त्यस्तै जिल्ला भलिबल संघका अध्यक्ष श्रेष्ठले खेलकुदजन्य गतिविधिमा तीनै तहका सरकारबाट बजेट विनियोजन नगर्दा समस्या भएको बताउँदै बजेट विनियोजनको वातावरण बनाउन अनुरोध गर्नुभयो ।

यसपटक केही स्थानीय तह बाहेक ब्यक्तिगत रुपमा सहयोग जुटाएर प्रतियोगितामा सहभागि भएको प्रमुख प्रशिक्षक बानियाँले बताउनुभयो।

उहाँले आगामी दिनमा जिल्लाका लागि खेल खेल्ने क्रममा आवश्यक आर्थिक ब्यवस्थापन हुदाँ खेलाडीलाई खेलमा आत्मबल बढ्ने बताउनुभयो । म्याग्दीले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि जितेको खुसीयालीमा सदरमुकाम बेनीमा समेत विजय यात्रा गरिने जनाइएको छ ।