बेनी नगरपालिका-९, गलेश्वरमा रहेको धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरको छानालाई पित्तलले छाइने भएको छ। शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । वाँकी अपुग रकम कोषको आन्तिरक स्रोतबाट खर्च गरिने उहाँले बताउनुभयो । सभामा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न थप पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।गलेश्वर क्षेत्र भित्र रहेका अन्न क्षेत्र,ज्येष्ठ नागरिक आश्रम र विद्यालयको विकासका लागि योजाबद्ध रुपमा अगाडि बढ्न उहाँले सुझाव दिनुभयो । सभामा आजिवन सदस्य शर्माले गलेश्वर मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्रनो बुवा राधाकृष्ण शर्माले गलेश्वर क्षेत्रको विकासका लागि थालेको अभियानलाई आगमी दिनमा पनि निरन्तरता दिने बताउनुयभो ।सभामा बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल,धार्मिक संघसंस्थाका तर्फबाट अमृतदेवी बानियाँ,पूर्व अध्यक्ष महेश पराजुली, युवानाथ रेग्मी र सभासदका तर्फबाट सुमन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।सभामा प्रस्तुत भएको कोषका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षको प्रतिवेदन,सचिव रेग्मीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बमबहादुर पुनको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ ।

सभामा कोषाध्यक्ष पुनले पौष मसान्त सम्म गत वर्षको समेत गरि २ करोड ८६ लाख, २० हजार ७ सय २८ रुपियाँ आम्दानी र पौष मसान्त सम्म खर्च रु १९ लाख ६७ हजार ८ सय १४ खर्च भई कोषको कुल वचत रु २ करोड ६६ लाख ५२ हजार ९ सय १३ रुपियाँ बचत रहेको जानकारी गराउनुभएको थियो ।कोषका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष पण्डित भिमनाथ पराजुलीको स्वागत र सदस्य सचिव रेग्मीको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।