नेपालमा कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ ।

खोपबारे विभिन्न कुरा आइरहेपछि ढुक्कले खोप लगाउन ज्येष्ठ नागरिकको सुझाव छ । प्राथमिकताका आधारमा खोप लगाउने क्रममा अब ज्येष्ठ नागरिकले खोप लगाउने पालो आएको छ तर कतिपय ज्येष्ठ नागरिकले प्राथमिकताका आधारमा खोप लगाइसक्नुभएको छ । खोप लगाउन बाँकी ज्येष्ठ नागरिक खोपप्रति उत्साहित हुनुहुन्छ ।

कतिपय ज्येष्ठ नागरिकले पत्रकारको हैसियतले समेत कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ । त्यसैक्रममा हुनुहुन्छ, वरिष्ठ पत्रकार भैरव रिसाल । उमेरले ९३ वर्ष पुगिसक्नुभएका रिसालले केही चिकित्सकको सल्लाहमा खोप लगाएको जानकारी दिनुभयो । सुरुमा खोपबारे भ्रामक विषयलाई प्रचार गरिए पनि आफूलाई खोपमा पूर्ण विश्वास रहेको उहाँले बताउनुभयो । आफूले चिनेका चिकित्सकद्वय डा. सरोज धिताल र डा. अर्जुन कार्कीसँंग परामर्श गरेको उहाँले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।