जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे । काँधमा बन्दुक, झोलामा बस र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे ।  समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ ।

नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने, धनी गरिब समान हैसियतको हुने र उतिबेलाका लालकिल्ला जिल्ला सदरमुकाम बनाउनेदेखि कम्युन स्थापना गरेर साझा सम्पत्तिका रुपमा स्थापित गर्ने सपना बोकेका थिए ।

तर जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा पुग्यो, तब ती सपना साकार हुन सकेनन् । बेकार बने । स्थानीय धनबहादुर रोकाया माओवादी कालमा बोकिएका कुनै पनि सपना साकार हुन नसकेको बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन् ।