लामो समय देखि न्युजिल्यान्डमा रहनुभएका म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका लोकनाथ पौडेल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट पर्यटनदूत नियूक्त हुनुभएको छ ।

नेपालको पर्यटनको क्षेत्रमा न्युजिल्यान्डमा प्रचारप्रसार तथा प्रर्बधनको अभियानमा सक्रिय पौडेललाई बोर्डको आधिकारिक प्रतिनिधिको रुपमा काम गर्ने गरी आगामी २ बर्षे कार्यकालको लागि नियुक्ती गरिएको हो ।

एनआरएनए, म्याग्दी प्रवासी नेपाली संघ लगायत नेपाली संघसंंस्थामा आवद्ध पौडेलले कोरोनापछि सुस्त गतिमा रहेको नेपालको पर्यटनको क्षेत्रलाई उकास्ने गरी न्यूजिल्याण्डबासीमा पर्यटनका क्षेत्रका बारेमा जानकारी गराउने जिम्मेबारी मिलेको बताउनुभयो ।

‘नेपालको पर्यटनमा न्यूजिल्याण्डबासको योगदान छ,‘उहाँहरुलाई नेपालको भ्रमणमा थप प्रोत्साहन गर्न यो जिम्मेबारीले सहज भएको छ’ पौडेलले भन्नुभयो । नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा विभिन्न कार्यक्रम गरी पर्यटकमाझ नेपाल एउटा उत्तम गन्तब्य हो भनेर चिनाउने र जति सक्दो धेरै पर्यटक नेपाल भित्राउन पहल गर्ने पौडेलको योजना छ ।

हालै विप्लव नेतृत्वको पार्टीले समेत शान्तिपूर्ण राजनीतिमा आएपछि नेपालको सन्देशलाई फैलाउन सहज हुने पर्यटनदुत पौडेलको भनाई छ । पौडेल एनआएनए तथा म्याग्दी प्रवासी नेपाली संघ सहित विभिन्न संघसंस्थामा आवद्ध रहेर अग्रणी भूमिका निर्बाह गर्दै आउनुभएको छ ।