नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट म्याग्दीका धन श्रीष उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न भएको अधिवेशनबाट बेनी नगरपालिका वडा नं ३ भकिम्ली का श्रीष उपाध्यक्षमा चयन हुनुभएको हो ।

एक दशक अगाडीदेखि बाख्रापालनमा सक्रिय श्रीष नेपालमा नमुना बाख्रापालक कृषकमध्येमा पर्ने भएकाले साविकको धौलागिरी अञ्चलभित्रका चार जिल्लाबाट श्रीषले प्रतिनिधित्व गर्नुभएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएर ५० हजारको लगानीमा बाख्रापालनमा सक्रिय हुनुभएका श्रीषले बार्षिक करिब १५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ भने बोयर जातका बाख्राको स्रोतकेन्द्रको रुपमा समेत आफ्नो फर्मलाई रुपान्तरण गरेपछि भ्रमण गर्न आउनेको घुईचो लाग्ने गरेको छ ।

उपाध्यक्ष पदमा निर्वाचित भएपछि श्रीषले आफ्नो सीप र अनुभवलाई बाख्रापालनमा सक्रिय हुन चाहने यूवाहरुलाई हस्तान्तरण गर्ने बताउनुभयो । ‘मेहनत गरे बाख्रापालनबाटै मनग्य आम्दानी गर्न सकिन्छ,‘बाख्रापालनलाई ब्यवस्थित र कृषकको आम्दानीसँग जोड्न महासंघको भूमिका धेरै हुन्छ’ उपाध्यक्ष श्रीषले भन्नुभयो।

श्रीषको फर्म म्याग्दीको नमुनामा पर्छ भने सरकारी संघसंस्थाले समेत विभिन्न जिल्लाबाट कृषकलाई फार्म हेर्न ल्याउने गरेका छन् । ‘व्यावसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भर हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न भएको महाअधिवेशनबाट प्रेमसागर पौडेलको नेतृत्ववमा २१ सदस्यीय समिति चयन भएको थियो ।

महाधिवेशनको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा बिमा, अनुदान, लोनलगायतका विषयमा समेत निर्णय भएको छ ।यसैबीच श्रीषलाइ्र्र दुर्गम क्षेत्रमा रहेर ब्यवसायीक बाख्रापालनमा खेलेको भूमिकाको उच्च प्रशंसा गदैं सम्मान समेत गरिएको छ ।