उत्तरी पर्वतको जलजला गाउँपालिका–३, पर्वतको मल्लाज माझफाँटमा सञ्चालित अमृत आदर्श प्याराडाइज एकेडेमीमा आइतबार महिलासम्बन्धी विषयमा प्रशिक्षण सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्याको अवसर पारेर विद्यालयको आयोजनामा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा अधिकारकर्मी जमुना आचार्यले बालअधिकार, महिलाको हक अधिकार, आत्मविश्वास बढाउने, अन्तर्राष्ट्रिय महिला दिवस, घरलु तथा सामाजिक हिंसा र न्युनीकरण, विद्यालय उमेर समूहमा छात्रामाथि आइपर्ने समस्या र समाधानका उपाय लगायतका विषयहरुमा सहजीकरण गरेकी थिइन् । यसैगरी अमृत आदर्श एकेडेमीका प्रिन्सिपल ईन्द्र अधिकारीले अन्तर्राष्ट्रिय महिला दिवसको विषयमा सहजीकरण गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष धनपति सुवेदीको अध्यक्षता र शिक्षक प्रतिभा बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल अधिकारीले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि समेत प्रकाश पारेका थिए । विद्यालय सञ्चालक समितिका सदस्य हेमकुमारी अधिकारी र छात्रा गरिमा विकले मन्तव्य राखेको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुको उपस्थिति रहेको थियो ।