हात बाँधिएको अवस्थामा कर्णाली नदीमा दुई बहिनीको शव भेटिएको छ। दैलेखको आठविस नगरपालिकाका स्थानीयले हात बाँधिएको अवस्थामा पानीमा डुबिरहेको दुई बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिंह बडुवालका १६ वर्षीय छोरी कल्पना बडुवाल र १२ वर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ।

उनीहरूको शव पानीमा डुबिरहेको अवस्थामा देखिएको भनेर सोमबार बेलुका ५ बजेतिर प्रहरीलाई खबर आएको ईलाका प्रहरी कार्यालय राकमका सहायक प्रहरी निरीक्षक गोविन्द ढकालले जानकारी दिए।

घटनाको बारेमा बुझ्दा रहस्यमय देखिएको छ। असई ढकालका अनुसार मृत भेटिएका दुई बालिकाका बुवा मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानसिंहको परिवारमा ६ जना सदस्य थिए। बडुवालकी श्रीमति, तीन जना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको भन्ने बुझिएको ढकालले बताए।  बडुवालले बताए अनुसार घरायसी विवाद हुँदा श्रीमती छोराछोरी लिएर घरबाट निस्किएको ढकालले जानकारी दिए। Source: setopati.com