वैदेशिक रोजगारीबाट फर्किएका म्याग्दीका एक यूवाले चप्पल उद्योग सञ्चालन गरेका छन् । करिब ७ बर्ष मलेसिया र साउदी अरबमा बसेर फर्किएका बेनी नगरपालिका-६, थाकनपोखरीका डोलेन्द्र ढुंगानाले करिब ५ लाखको लगानीमा एकसाता अगाडी बेनपा–७ महारानीथानमा प्रसिद्धी चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् ।

बैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा सक्रिय ढुंगानाले उद्योग स्थापना गरी जिल्ला भित्रका सहर तथा ग्रामिण क्षेत्रमा बिक्री गर्न थालेको बताए । ‘उद्योग स्थापना गरेको एक सातामै बजारमा चप्पल पठाउन थालेको छु, ‘सस्तो र टिकाउ भएकाले ग्राहकको रोजाईमा पर्ने विश्वास लिएको छु’ढुंगानाले भने।

उत्पादन गरिएका चप्पलकव् होलसेलमा करिब ३० हजारको हाराहारीमा बिक्री गरेको उनको भनाई छ । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ तराईका जिल्लाबाट आयात गरिएको छ । हाल उद्योगमा एक्लै काम गरेपनि निकट भविस्यमा बजार प्रतिनिधि सहित दुई जनालाई रोजगारी दिने योजना रहेको ढुंगानाको भनाई छ ।

एकपटक आफ्नौ जिल्लामा बनेको चप्पल प्रयोग गरिदिन समेत ढुंगानाले अनुरोध गरे। अहिले सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न स्थानमा चप्पल लिएर पुग्ने गरेका उनले केही महिना ग्राहकसँग प्रत्यक्ष पुग्ने योजना रहेको बताए ।

एउटा चप्पल बनाउन दुईदेखि चार मिनेटसम्म लाग्छ भने दैनिक झण्डै १ सय चप्पल उत्पादन हुन्छ ।पहिलो चरणमा पुरुष रमहिलालाई लक्ष्य गरी चप्पल उत्पादन गर्न थालिएको छ भने निकट भविस्यमा बच्चाहरुलाई समेत आवश्यक पर्ने चप्पल उत्पादन गर्ने ढुंगानाको भनाई छ ।

उद्योगमा लगानी थपेर ३० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको सञ्चालक ढुंगानाको भनाई छ । म्याग्दी बाहेक धौलागिरिका बागलुङ, पर्वत र मुस्ताङलाई लक्ष्य गरी सो उद्योग सञ्चालनमा ल्याइएको हो । जिल्लामा सामान्य चप्पलसमेत बाहिरबाट आयात हुने गरेको अवस्थामा उद्योग नै स्थापना भएपछि उत्पादन अनुसार नै खपत हुने उनको भनाई छ । उद्योग सञ्चालन अगाडी ढुंगानाले लामो समयसम्म स्थापित उद्योगहरुमा पुगेर तालिम तथा प्राविधिक ज्ञान समेत लिएर आएका थिए ।