लायन्स क्लव अफ बेनी महारानीले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने र आर्थिकरुपमा सशक्तिकरण गर्ने उद्देश्यले निशुल्क गुडिया बनाउने तालिम सञ्चालन गरेको छ । आर्थिक रूपमा आत्मनिर्भर बनाउन बिहिबारदेखि सुरु भएको १५ दिने गुडिया तालिममा १० जना महिलाको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गदैं लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसीले लायन्स मार्फत सामाजिक, मानवीय सेवासँगै स्वरोजगारमुलक कार्यक्रमहरुमा समेत सहयोग गर्ने गरेको बताउनुभयो।

उहाँले लायन्स समुदायमा आवश्यकता परेका हरेक क्षेत्रमा सक्रिय हुनुपर्ने बताउँदै सिप भएकालाई बेरोजगार बस्नु नपर्ने बताउनुभयो । सोही अवसरमा क्लवकी अध्यक्ष संगिता श्रेष्ठले महिलालाई घरायसी काममा मात्रै सिमित गर्ने प्रबृत्तिको अन्त्य गर्न क्लवमार्फत गुडिया तालिम राखिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले आर्कषक गुडियालाई बजारमा बिक्रीको समस्या नभएको बताउनुभयो ।

उहाँले उद्यमी बन्न सके परिवार र समाजलाई नै फाइदा पुग्ने बताउनुभयो । तालिम लिए पछि सदुपयोग गर्दै बजारसँग प्रतिस्पर्धा गर्नसक्ने गरी राम्रो फिनिसिङ गर्न सहभागीहरुलाई समेत अनुरोध गर्नुभयो । क्लवको  खर्चमा बेनीको रोयल ब्यूर्टिपालर एण्ड टे«निङ सेन्टरमा आयोजित तालिममा विभिन्न प्रकारका गुडियाका बनाउन सिकाइने छ ।

तालिमका सहभागिले निशुल्कमा प्राप्त गरेको अवसरलाई सदुपयोग गर्ने र थप उर्जा मिलेको बताएका थिए । कार्यक्रममा क्लवकी पूर्व अध्यक्ष एवम् जोन चियरपर्सन हिरा पौडेल लगायतको उपस्थिती रहेको थियो भने सचिव चन्द्रा घलेले सञ्चालन गर्नुभएको थियो ।