म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले बाढीपहिरोबाटघरबास गुमाएकालाई लक्षित गरी सुरु गरेको आवास पुननिर्माणको कार्यले तिब्रता पाएको छ। प्रवासी म्याग्देलीको साझा संस्था मोनामार्फत जिल्लाका सबै स्थानीय तहमा ४० वटा घर बनाउँदैछ।

रघुगंगा गाउँपालिकाको झिँबाट सुरु भएको पुननिर्माणको काम बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी गाउँपालिकामा तिब्र गतिमा अगाडी बढेको छ भने अन्नपूर्ण गाउँपालिकामा यसै हप्तादेखि सुरु हुनेमोनाको पुर्नवास कार्यदलका सदस्य दल शेरबुजाले बताए ।

धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर निर्माण गरिने भएको छ।एक वटा भान्छा कोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हुने घरको लागत ५ लाख रहेको छ ।

स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सघाइरहेको छ । म्याग्दीमा यूवा निर्माण ब्यवसायी दुर्गा बुढामगरले सम्झौता अनुसार नै जिल्लाभरको घर निर्माण कार्य सम्पन्न गरिने बताए ।

उनले बर्खाअघि नै आफूहरुले जिम्मा लिएका घर निर्माण सक्ने गरी जनशक्ती सहितको साम्रागी ब्यवस्थापन गरेको बताए । मोनाले मापदण्ड अनुसारको संरचना बनाउन कार्यदलका सदस्य एव्म मोना हङकङका पूर्व अध्यक्ष दल शेरबुजा कार्यक्षेत्रमै खटिएका छन्।

कार्यदल सदस्य शेरबुजाले मापदण्ड र समयमै सम्पन्न गर्नका लागि सबै स्थानीय तहमा नियमित अनुगमन तथा सरोकारवाला निकायसँग समेत छलफलले समेत लक्ष्य अनुसार बैशाख महिनाभित्रै घर  सकिने अवस्था देखिएको मोना आइइसीका महासचिव बिक्रम कार्कीले बताए ।

उनले कार्यदल सदस्य शेरबुजा सहित मोना आइसीको अन्य सदस्यहरुको टोलीले नियमित अनगुमन तथा प्राविधिक सहकार्यले समेत सहज भएको बताए ।

मोना बाहेक सरकारी निकायबाट भने सुस्त गतिमा पुर्ननिर्माणको काम अगाडी बढेको छ । म्याग्दी जिल्लाभर ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो। टहरा र त्रिपालमुनी रहेका पहिरो पीडितलाई बर्खाअघि नै सुरक्षित घर उपलब्ध गराउन ताकेता गरिएपनि सरकारको प्रतिबद्धता अनुसारको बजेट भने प्राप्त भएको छैन् ।

पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुननिर्माण गर्न ५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउन कार्यविधि स्विकृत भइसकेको बजेट समेत सरकारबाट प्राप्त भएको छैन् । पहिरोमा घरबास गुमाएकाहरु टहरा, त्रिपाल, सामुदायिक भवन, आफन्त र गाउँका खाली घरमा बसेका छन्।