बाढीपहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवासमा बहराइनमा रहेका म्याग्देलीले ६ लाख आर्थिक सहयोग जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियले विस्थापितलाई घर बनाउने अभियानमा मोना बहराइनले आपतकालिन राहत स्वरुप पहिलो चरणमा १ लाख ११ हजार १११ रुपैयाँ सहित कुल ६ लाख ४ हजार ८३६ सहयोग गरिएको महासचिव दिनेश बस्नेतले बताए ।

उक्त सहयोग मोना आइइसीको खातामा जम्मा गरिएको छ । मोनामार्फत जिल्लाका सबै स्थानीय तहमा ४० वटा घर बनाउने अभियानमा उक्त सहयोग खर्च गरिने मोना बहराइनका अध्यक्ष लोकबहादुर राम्जालीले बताए ।

‘समयमै विस्थापितले घर पाउने अवस्था देखिएको छ,‘पुर्नबास अभियानमा सहयोग गर्ने सबैप्रति आभारी छु’ अध्यक्ष राम्जालीले भने । मोनामार्फत धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर निर्माण भइरहेको छ । एक वटा भान्छा कोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हुने घरको लागत ५ लाख रहेको छ ।

यता मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले पुर्नवास अभियान अन्तिम चरणमा पुग्न थालेको बताउँदै यो बर्खामा घरभित्रै बस्न पाउने बताए । विश्वभर रहेका म्याग्देलीले पुर्नबास अभियानमा सहयोग गरेका छन् ।