जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् ।

पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ । यस्तो अवसरमा साथीभाइलाई बोलाएर भोजभतेर समेत दिइन्छ । पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ।

यसैक्रममा म्याग्दीका एक खेलाडीले आफ्नो जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई रक्तदानका लागि आवश्यक पर्ने कुर्ची सहयोग गरेकी छन् ।

बागलुङकी सुटिङ खेलाडी श्रेया केसीले रेडक्रसद्धारा बेनी अस्पतालमा सञ्चालित रक्तसंचार केन्द्रलाई ४ वटा कुर्ची सभापति लेखबहादुर हमाल, संयोजक सुरत केसी लगायतको उपस्थितीमा हस्तान्तरण गरेकी हुन् ।

प्रति कुर्चीको मुल्य ८ हजार रहेको छ । ‘जन्मदिनमा राम्रो ठाउँमा सहयोग गर्न अवसर मिल्यो,‘ जन्मदिनमा हुने फजुल खर्च कटाएर यस्तै कामलाई निरन्तरता दिन्छु’ केसीले भनिन् ।

केसी आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट महिला तर्फ १० मि सुटिङमा प्रथम भएकी थिईन् भने टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडीको सुचीमा समेत परेकी थिईन् । सहयोग हस्तान्तरण कार्यक्रममा केसीका दाजु मोहन केसी, रेडक्रस सोसाईटीका कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठ लगायतको उपस्थिीत रहेको थियो ।