स्टुडेन्ट भाइब्सले अस्ट्रेलियामा गरेको ‘म पनि बोल्छु भन्ने वक्तृत्वकला प्रतियोगितामा म्याग्दीकी अनिता पौडेल द्धितिय भएकी छन् । अस्ट्रेलियामा नै पहिलो पटक भएको बृहत वक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका–४, राक्सेकी पौडेलले दमदार प्रस्तुती दिएकी थिईन् ।

अन्तिम १२ बाट तीन जनालाई बिजेता घोषणा गरिएको प्रतियोगितामा प्रथम रमेश कडरिया र तृतीय पुरस्कार भुवन तिमल्सिनाले हात पारेका थिए ।अस्ट्रेलियामा सिकेको सीप र ज्ञानलाई नेपालमा भित्राउने विषयमा प्रतियोगीले आफ्ना विचार राखेका थिए।

५ जना निर्णायक मण्डलले मुस्किलले तीन जनालाई छानेका हुन्। सबैको प्रस्तुत बलियो रहेको बताइन्छ। मोटिभेशनल स्पिकर भिमसेन सापकोटा, आचार्य राजन शर्मा, साउथर्न एकेडेमी तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष मन केसी, सिड्नी सिटी कलेजकी प्रमुख कार्यकारी अधिकृत रञ्जु वाग्ले थापा, लाइफ लिडरसीप कोच बिनोद पौडेल र ओपेरा एकेडेमीकी चिफ फाइनान्सियल अफिसर अनु रेग्मीको निर्णायक मण्डलले बिजेता घोषित गरेको हो।

भर्चुअल अडिशनबाट सहभागी भएका १२ जना छानिएको अर्का सहजकर्ता बद्री बरुवालले जानकारी दिए। ‘यो प्रतियोगिताले धेरै मिठो सन्देश दिन सफल भएको छ,‘हामीले अवका दिनमा सार्वजनिक रचनात्मक कार्यहरुलाई थप प्रभावकारी बनाउँछौ’ बरुवालले भने । उनले शैक्षिक अभियानसँगै सामाजिक तथा मानवीय सेवाका संस्थाले थप सहयोग र सहकार्य गर्ने बताए ।

कार्यक्रमका बिजेताले ५ सय डलर, २ सय डलरलगायतका पुरस्कार, दोस्रोले ३ सय डलर नगदलगायतका अन्य सुविधा थियो भने तेस्रोका लागि २ सय डलरलगायत अन्य बोनश पुरस्कार पनि दिइएको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष देवबहादुर गुरुङ, विशेष अतिथि प्रवक्ता नन्द गुरुङ, एकाका अध्यक्ष भुपाल सिटौला, रविन्द्रकुमार शर्मासहितको उपस्थिति रहेको थियो।

कार्यक्रममा अस्ट्रेलियाका विभिन्न संघसंस्थाले गरेको सहकार्यमा धन्यवाद ज्ञापन गरिएको थियो। आयोजकले सामाजिक उत्तरदाहित्व अन्तरगत म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँकी १८ बर्षिया कोपिला पुनलाई रेखा मेमोरियल ट्रष्टसँग सहकार्य गरी म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत पुनलाई नगद ५० हजार सहयोग समेत गरेको थियो ।