म्याग्दीको सदरमुकाम बेनीमा सेयर खरिद–बिक्रीका लागि ब्रोकरको शाखा स्थापना हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरको शाखा बिस्तार गर्न अनुमति दिएसँगैकाठमाण्डौको अनामनगरमा केन्द्रिय कार्यालय रहेको भिजन सेक्युरिटी प्रालिले शाखा विस्तार गर्न लागेको हो ।

पछिल्लो समय म्याग्दीमा सेयर कारोबारमा आकर्षित हुनेको संख्या ह्वात्तै बढेपछि गणेशटोलमा कार्यालयका लागि सम्झौता समेत भइसकेको छ । करिब एक महिनाभित्र शाखा स्थापना हुने गरी आवश्यक तयारी भइरहेको यूवा ब्यवसायी नारायण जिसीले बताए ।

हालसम्म म्याग्दीका लगानीकर्ताले सेयर खरिद–बिक्रीका लागि अनलाइनसँगै बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेको थियो ।बागलुङमा दिव्या सेक्युरिटी एन्ड स्टक हाउस शाखा कार्यालय रहेको छ । शाखा स्थापनासँगै सेयर बजारका बारेमा जानकारी सहितका कार्यक्रमहरु समेत सञ्चालन गर्ने जनाइएको छ ।

म्याग्दीमा बार्षिक करोडौंको सेयर कारोबार हुने गरेको छ । पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्लाको होडबाजीले समेत अधिकांसले डिम्याट खोलेको अवस्थामा बेनीमै शाखा कार्यालय स्थापना भएपछि सहज हुने लगानीकर्ताको भनाई छ ।