कतारमा कोरोनाका संक्रमित बढ्न थालेपछि सरकारले भोलि देखि लागु हुने गरी थप क्षेत्रमा प्रतिबन्ध गर्ने भएको छ । कोरोनाको दोस्रो लहर आउँ नदिन हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि विभिन्न क्षेत्रमा कडाइका साथ प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारी तथा निजी क्षेत्रका कार्यालयहरूका ८० % कर्मचारीले कार्यालय तथा २० % ले घरबाट कार्य गर्नु पर्नेछ भने ५ जना भन्दा बढीले बैठकमा भाग समेत लिन पाउने छैनन् ।

मस्जिदहरू खुल्ला रहे पनि बाथरुम तथा वृद्ध कक्ष बन्द रहेनछन् । सार्वजनिक स्थानहरू पार्क, कर्नेच लगायतका ठाउँहरूमा एकै परिवारका सदस्यहरू बाहेक २ जना भन्दा बढी जम्मा हुन् नपाइने भएको छ भने विवाहका सम्पूर्ण गतिविधि रोकिएको छ ।

घरबाट बाहिर निस्किदा मास्क तथा एतराजको प्रयोग अनिवार्य गरिएको छ । सार्वजनिक सवारी साधनहरू बस तथा रेलमा ३० % यात्रु चढाउन अनुमति दिइएको छ भने शुक्रवार र शनिवार २० % मात्र चढाउन पाइने छ । निजी कारहरूमा चालक सहित ४ जना चढ्न पाइने छ । त्यस्तै कम्पनीका बस तथा भ्यान हरुले आधा क्षमतामा मात्र बोक्न पाउनेछन् ।

अर्को सूचना जारी नहुन्जेल सबै ड्राइभिङ स्कुलहरू बन्द गरिएको छ । सैलुन ब्युटी पार्लर ३० % मात्र क्षमतामा खोल्न पाइने छ भने जिम लगायत स्विमिङ पुलहरू पूर्ण बन्द गरिएको छ । निजी स्कुलहरू पूर्ण रूपमा बन्द रहनेछन् । रेस्टुरेन्ट तथा क्याफेहरूमा भित्र १५% र बाहिर ३०% मात्र बस्न पाउनेछन् । सिनेमा हलमा १८ वर्ष मुनिकालाई प्रबेश निषेध गरिएको छ भने मलहरूमा १२ वर्ष मुनिकालाई प्रवेशमा रोक लगाइएको छ । सिनेमाघरहरुले २०% दर्शकलाई प्रवेश दिन पाउनेछन् भने मलहरूमा ३०% लाई मात्र प्रवेश अनुमति रहेको निर्णयमा जनाइएको छ