यूनाईटेड गोर्खाज भलिबल क्लब ब्रिसबेन क्वीन्सल्याण्डले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी म्याग्दी समाज मुन्डुबेराले हात पारेको छ । फागु अर्थात् होली पर्वको अवसरमा आयोजित प्रतियोगितामा म्याग्दीले क्यापकन भलिबल टिमलाई पराजित गरेको थियो ।

प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ८ सय डलर, ५ सय डलर प्राप्त गरेका थिए भने तेस्रो स्थानमा एक्सपोर्ट कन्सल्टेन्सीले ३ सय डलर हात पारेको म्याग्दी समाज मुन्डुबेराका अध्यक्ष पूर्णबहादुर रोकाले बताए । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर म्याग्दी समाजका क्याप्टेन सन्तोष मल्लले प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा इसान एजुकेशन कन्सल्टेन्सीले जर्सी सहित आवश्यक सहयोग गरेको थियो । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीको साझा संस्थाले खेलकुद सहित विभिन्न सामाजिक एवम् मानवीय सेवाका कार्यहरुमा समेत सहयोग गर्ने गरेको छ ।

यसअगाडी संस्थालृे बाढीपहिरोबाट विस्थापितलाई ७ लाख २३ हजार ७५० रुपैयाँ सहयोग गरेको थियो भने आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकालाई समेत सहयोग गरेको संस्थाका महासचिव रमेश रोकाले जानकारी दिनुभयो ।