सदरमुकाम बेनीमा प्रथम म्याग्दी कोरोला कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ। म्याग्दी कोरोला यातायात प्रालिको तेस्रो बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि केसीलेग्रामिण क्षेत्रमा लुकेका खेल प्रतिभाको पहिचान गरी अवसर दिन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रनाउ श्यामकुमार राई, शसस्त्र प्रहरी बल गलेश्वरका प्रमुख हरिबहादुर गुरुङ, बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

बार्षिक उत्सवको अवसरमा प्रालिमा कार्यरत धुब्र श्रेष्ठ र अकल तामाङलाई स्थायी गदैं नगद र कदरपत्रले सम्मान गरिएको कार्यक्रम संयोजक मोहन केसीले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाभित्रको ६ वटै स्थानीय तहका ४५ वडालाई लक्षित गरी आयोजित प्रतियोगितामा पहिचान भएका नयाँ खेलाडीलाई खेलकुदसँग सम्बन्धित निकायमा समेत जानकारी गराई अवसरका लागि वातावरण बनाउने प्रालिका अध्यक्ष सुरत केसीले बताउनुभयो ।

प्रतियोगितामा पुरुष तर्फ २० र महिलातर्फ १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। म्याग्दीबाट काठमाण्डौ, पोखरा तथा विभिन्न जिल्लामा नियमित यातायात सेवा दिदैं आएको म्याग्दी कोरोला प्रालिसँग अहिले ११ वटा बस छन् ।

प्रतियोगिताको पुरुष तर्फको विजेता र उपबिजेताले क्रमश ५५ हजार ५५५, उपविजेता ३३ हजार ३३३, महिलातर्फ प्रथम हुनेले ३३ हजार ३३३ र द्धितियले २२ हजार २२२ नगद, मेडल र ट्रफी प्राप्त गर्ने खेलकुद संयोजक कुमार किसानले बताउनुभयो ।

प्रतियोगिताको समापनमा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने छ भने सेमिफाइनलबाट बाहिरिनेलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र दिइनेछ । वडास्तरबाटै खेलाडी उत्पादन र खेलकुदको विकासका लागि आयोजित प्रतियोगितामा राष्ट्रियस्तरको रेफ्री तेजेन्द्र बानियाँले सञ्चालन गर्नुभएको छ भने मुख्य रेफ्री खड्क केसी हुनुहुन्छ ।