म्याग्दी कोरला यातायात प्रालिको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम म्याग्दी कोरला कप भलिबलको उपाधी घतान र नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा आयोजित प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका-९,घतानले तीनका बिरुद्ध एक सेटमा हरायो । महिलातर्फ अन्नपूर्ण गाउँपालिका-४ नारच्याङले अन्नपूर्ण–३ दानालाई सोझो सेटमा पराजित गरेको थियो ।प्रतियोगितामा तुलनात्मक रुपमा उपाधीका दावेदार मानिएको पुलाचौरलाई एक सेटमा सिमित गदैं घरेलु मैदानमा भलिबल प्रतियोगितामा हावी हुदै आएको घतानले उपाधीमा कब्जा जमाएको हो । घतानले पहिलो सेटबाट नै दबाब बनाएको थियो ।कोरोना भाइरसको जोखिमसँगै लामो समयदेखि खेलकुदजन्य गतिविधि समेत बन्द भएको अवस्थामा करिब डेढबर्षको अवधिमा खुल्लामञ्चमा आयोजित प्रतियोगितामा खचाखच दर्शकको उपस्थिती रहेको थियो । पुरूष र महिलातर्फ गण्डकी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताहरूमा अनुभव भएका खेलाडीको खेलले दर्शकलाई भलिबलको तिर्खा मेटिएको थियो ।

विजेता र उपविजताले पुरुष र महिला टीमले क्रमश ५५ हजार ५५५, उपविजेता ३३ हजार ३३३, महिलातर्फ प्रथम हुनेले ३३ हजार ३३३ र द्धितियले २२ हजार २२२ नगद, मेडल र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको सर्वाेत्कृष्ट महिला खेलाडीमा नारच्याङकी सस्मी पूर्जा र पुरुष खेलाडी घतानका सुजन चोखाल घोषित भए ।

त्यस्तै उत्कृष्ट डिफेन्डर पुलाचौरका सचिन परियार, उत्कृष्ट स्पाइकर पुलाचौरकै बिजय बानियाँ, उत्कृष्ट कोच घतानका सबिस चोखाल, अनुशासित खेलाडी घतानका सन्दिप चोखाल भएका छन् त्यस्तै महिलातर्फ उत्कृष्ट डिफेन्डरमा दानाकी गमिसा थापा, उत्कृष्ट स्पाइकरमा नारच्याङकी दिपा तिलिजा, अनुशासित खेलाडीमा दानाकी सविता बुढाथोकी र उत्कृष्ट कोच नारच्याङका फकबहादुर पूर्जा रहेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई काठमाण्डौ–बेनीको दुबैतर्फको बस टिकट समेत निशुल्क गरिएको छ । त्यस्तै बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाईसम्मान गरिएको थियो भने सेमिफाइनलबाट बाहिरिनेले नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा पुरुष तर्फ २१ र महिलातर्फ १० टिमको सहभागिता जनाएको खेलकुद संयोजक कुमार किसानले बताए । बार्षिक उत्सवको अवसरमा प्रालिमा कार्यरत धुब्र श्रेष्ठ र अकल तामाङलाई स्थायी गदैं नगद र कदरपत्रले सम्मान गरिएको थियो । प्रालिका अध्यक्ष सुरत केसीले ग्रामिण क्षेत्रमा लुकेका खेल प्रतिभाको पहिचानमा सघाएको बताए ।