‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित म्याग्दी सदरमुकाम बेनीमा ६४औं राष्ट्रिय सहकारी दिवस–२०७७ मनाइएको छ । जिल्ला सहकारी संघ म्याग्दीको आयोजनामा विविध कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

सहकारी दिवसको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले छरिएर रहेको पुँजीको सङ्कलन, आम नागरिकको आर्थिक विकास र मुलुकको समग्र विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपालले तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारी क्षेत्रलाई समेटेको चर्चा गर्दै उनले सहकारी क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले म्याग्दीमा सहकारीहरुले उत्पादन नगरेको तर कृषि, वन र जडिबुटीसँग सम्बन्धित वस्तुको उत्पादन तथा प्रवद्र्धनमा महत्वपूर्ण संलग्न रहेको विचार व्यक्त गरेका थिए । जिल्ला सहकारी संघका पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले सहकारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पुरा गर्न सहयोग गर्ने धारणा राखे ।

सहकारीमाथि अनावश्यक कर थोपर्न नहुने धारणा राख्दै अध्यक्ष श्रेष्ठले सहकारीलाई उत्पादनमूलक बनाउनेतर्फ सरकार र निजी क्षेत्रले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुुर कटुवालले सहकारीहरुले गर्दै आएको लगानी, असुली, संस्थाको कारोबार वा आवश्यक अन्य कुराको बारेमा आधार मानेर जिल्ला सहकारी संघले सहकारीहरुको सुचीकरण गर्नुपर्ने र सोही आधारमा नियामक निकायहरुले आवश्यक कार्वाही वा प्रोत्साहनको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव गोरखनाथ सुवेदीले वैदिककालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नागरिकको जीवनमा सहकारीताको भावना कायम रहेको र उक्त विचारलाई उपनिषददेखि नेपालको नयाँ संविधानमा समेत भेट्न सकिने बताए ।

सहकारी ऐन २०७४ को मूल मर्मअनुसार नेपालमा सहकारीहरु गाभिने अभियान सुरु हुनु सकारात्मक पहलकदमी भएको बताउँदै उनले यसलाई वस्तुनिष्ठ ढङ्गबाट तार्किक निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बेनी नगरपालिकाको सहकारी विभाग प्रमुख कुमार रिजालले सहकारी संघसंस्था सञ्चालनसम्बन्धी भएका नीतिगत र कानुनी व्यवस्था, म्याग्दीमा सञ्चालित सहकारीहरुमा देखिएका समस्या र नगरपालिकाले गरिरहेको सहजीकरणबारे जानकारी गराएका थिए ।

जानेर वा नजानेर सहकारी सञ्चालकहरुबाट विभिन्न खाले गल्ती तथा कमजोरी हुने गरेको अनुभव सुनाउँदै उनले यसबारे सहकारीका सञ्चालकहरुले सम्बन्धित निकायमा पुगेर आवश्यक जानकारी लिनुपर्ने सुझाव दिए ।

सहकारी दिवसको अवसरमा संस्थाले पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार पुष्पा पुनलाई दोसल्ला, खादा, अबिर तथा माला र सम्मानपत्रसहित सम्मान गरेको थियो ।

सो अवसरमा दिदीबहिनी सहकारीले मृगौलापीडित रघुगंगा गाउँपालिका–४, दग्नामका अजय परियारलाई मुठ्ठीदानबाट सङ्कलित नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेको छ । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।