राष्ट्रिय फूल लालीगुराँस प्रशस्त फूल्ने उत्तरी मकवानपुरको थाहानगरमा हिजोआज स्कुले बालबालिका गुराँस बिक्री गर्न सडकमा उभिएर गाडी रोकिने प्रतीक्षामा देखिन्छन् । यसरी टिपिँदा गुराँसको प्राकृतिक सौन्दर्यमा ह्रास आए पनि कुनै पनि निकाय सचेत देखिएका छैनन् । गुराँस फूल्ने विभिन्न स्थानमा फूल टिप्नेलाई नगद जरिवानाको कारबाही गर्ने गरिए पनि मकवानपुरको थाहा नगरमा यस्तो छैन ।

नगरस्थित ऋषेश्वर सामुदायिक वन अध्यक्ष हिरेन्द्र रायमाझीले गुराँसका फूल टिप्दा जरिवाना लिने नगरिएको बताउनुभयो । नियम बनाउन सब–डिभिजन बन कार्यालयबाट निर्णय आउनुपर्ने र दण्ड दिने कुनै विधिविधान नभएकोले फूल टिप्दा कारबाही नगरिएको रायमाझी बताउँछन् ।

थाहानगरकै सीमभञ्ज्याङस्थित करुणाभूमि सामुदायिक वन अध्यक्ष विनोदकुमार लामाले गुराँस फुल टिप्दा जरिवाना नलिए पनि ठाउँ–ठाउँमा चेतनामूलक बोर्ड राखिएको बताउनुभयो । लामाले फूल टिप्ने मात्र नभएर हाँगा भाँचिनाले समस्या भएकाले त्यसो नगर्न आग्रह गरिएको बताउनुभयो । राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएको छ ।

बाइरोडको नामले परिचित त्रिभुवन राजपथ वरपरका जंगलमा फुलेका लालीगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्याउनु स्वाभाविक हो । टिस्टुङका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरू अहिले बेहुलीझैँ राताम्य देखिन्छ । त्यसैले, लालीगुराँसका पारखीहरू गाडी रोक्दै तस्बिर कैद गर्नमा व्यस्त देखिन्छन् भने केहीले रूख चढेर लालीगुराँसका थुँगा कोसेली लाने गर्छन् ।

डाँडैभरि फुलेका लालीगुराँसका कारण अचेल हेटौंडादेखि काठमाडौं जाने तथा काठमाडौंबाट हेटाैँडा जाने यात्रुहरूले आफ्नो गन्तव्य त्रिभुवन राजपथलाई बनाउने गर्दछन् । दामन सीमभञ्ज्याङ क्षेत्रमा लालीगुराससँग रमाउन काठमाडाैँ हेटाैँडा, चितवन र वीरगञ्जका लालीगुराँस पारखीहरू आउने गरेका छन् । लालीगुराँसले राजपथ आसपास जंगल मात्र राताम्य भएको छैन, यसकारण होटल व्यवसायीहरूलाई समेत आम्दानीको बाटो खुलेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ  ।