नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान व्यवस्था भत्काउन लागि परेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष दाहालले देशमा प्रतिक्रान्तिको प्रयास भएको बताउँदै परिवर्तनकारी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताउँनुभयो । बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलामा उहाँले अब संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नयाँ सत्ता समीकरण निर्माण हुने दाबी पनि गर्नुभयो ।

प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उहाँले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गर्दै त्यही कदमलाई सर्वोच्चले पनि गलत भनिदिएको बताउँनुभयो ।

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहको झण्डासहित उत्रिनुपर्ने र त्यो निकै महँगो पर्ने चेतावनी दिनुभयो ।