गुल्मी – ‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो,

माथिका यी हरफ स्वर्गीय कवि लेखनाथ पौडेलले काल महिमा नामक कवितामा लेख्नुभएको मानव जीवनको तितो यथार्थताको प्रतिबिम्ब हो । उर्बर जीवनको गोरेटोमा लम्कँदै जाँदा विभिन्न आरोह र अवरोहलाई चिर्दै र सुनौलो भविष्यको रेखा कोर्दै गर्दा दैवले यसरी बीच बाटोबाटै कलकलाउँदा मुनाहरूलाई टपक्क टिपेर लैजाला भनेर र कसले पो कल्पना गरेको थियो र ! तर दैवको अगाडि कसैको केही लाग्दो रहेनछ भन्ने तितो यथार्थलाई गुल्मेलीले बुधवार नचाहाँदा नचाहँदै स्वीकार्न बाध्य हुनुपर्यो ।

नयाँ वर्षमा तिनै भगवानसँग आफ्नो सुनौलो भविष्यका लागि आशीर्वाद थाप्न स्वर्गद्वारी हिँडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जीप मन्दिर नजिकै पुग्दा दुर्घटनामा पर्‍याे । स्वर्गद्वारीमा भगवानको आशीर्वाद थाप्न नपाउँदै जीपमा चढेकामध्येका पाँच जना सधैँका लागि बीच बाटोबाटै कहिल्यै कसैसँग भेट नहुने गरी अलप बनेर गए । अब तिनीहरुले कहिल्यै भगवानलाई आर्शीवाद देऊ भनेर सताउने छैनन् ?

गुल्मीले बुधवार चार जना राष्ट्रसेवकलाई गुमाएपछि अहिले सिङ्गो जिल्ला शोकमा डुबेको छ । जीप दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव बिहीवार दिउँसो गुल्मी आइपुगेको थियो । ती शव जिल्ला प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखियो । श्रद्धाञ्जली दिनका लागि मानिसहरुको बाक्लो उपस्थिति थियो । कार्यालय परिसरमा क्रमैसँग राखिएका शव र ती शवमाथि राखिएका मृतकका सुन्दर र हँसिला तस्बिरले त्यहाँ उपस्थित जो कसैलाई बोलाइरहेको र हाँसिरहेको जस्तो आभास गराएको थियो ।

शवमाथि राखिएका तस्बिरले श्रद्धाञ्जली दिन जाने जो कोहीका पनि आँखा रसाउन विवश थिए । अघिल्लो दिनसम्म कार्यालयमा सँगै काम गरेका आफ्नै सहकर्मीलाई श्रद्धाञ्जली दिँदै गर्दा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यक्रममा नै भक्कान्निनुभएको थियो ।

एउटै घटनामा कार्यालयका खरिदारदेखि अधिकृतसम्मका चार जनालाई गुमाउनुको पीडाले उहाँको मानसपटलमा यो घटनाले कहिल्यै नमेटिने गहिरो छाप पारेको छ । श्रद्धाञ्जली दिन मृतकका आफन्तदेखि जिल्लाका राजनैतिक दल, नागरिक समाज, कार्यालयका कर्मचारी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि र आम शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।

श्रद्धाञ्जली कार्यक्रममा लाग्दथ्यो अन्तरहृदयबाट कसैले पनि मृत्युलाई सहजै स्वीकार्न सकिरहेका थिएनन् । आफ्नो छोराको मृत्युको खबर कसैले पनि सहजै सुनाउने आँट गर्न नसकेका कम्युटर अपरेटर सूर्य पन्थीकी आमा अम्बिका पन्थीले बेलुकी टेलिभिजनमा समाचार हेरेपछि मात्र दुर्घटनामा छोराको मृत्युको खबर पाउनुभएको थियो । घटनाको बारेमा मृतकका परिवारका केही सदस्यलाई धेरैले पछि मात्र जानकारी गराएका थिए । मृतकका आफन्त कार्यालय परिसरमै आएर भक्कानिँदै श्रद्धाञ्जली अर्पण गर्दा धेरैले आँशु सम्हाल्न सकेनन् ।

प्युठानमा बुधबार भएको जीप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा बिहीवारदेखि वैशाख ६ गते सोमवारसम्मका लागि जिल्ला प्रशासन कार्यालयमा शान्ति, सुरक्षा र मुद्दासम्बन्धीका बाहेक अरु सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएको थियो ।

वर्षको अवसरमा बुधवार गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि चार जना बालबालिका, ११ जना कर्मचारी र चालकसहित अन्य दुई गरी १७ जना चढेका लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका ३ रुमाले नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सात जनालाई बिहीवार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको थियो भने अन्य पाँच जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनाका मृतक पाँचै जनाको शवलाई जिल्ला प्रशासन कार्यालयले आफन्तको जिम्मा लगाइसकेको छ ।  Source: ujyaaloonline.com