म्याग्दीको सदरमुकाम बेनीमा सेयर खरिद-बिक्रीका लागि ब्रोकरको शाखा स्थापना भएपछि सेयर कारोबारमा चासो देखाउनेहरुको भिड बढ्न थालेको छ ।

बेनी नगरपालिका-८ गणेशटोलमा भिजन सेक्युरिटी प्रालिले शाखा विस्तार गरेपछि नयाँ र लगानीकर्ताहरुको आवतजावत बढ्न थालेको हो ।

काठमाण्डौको अनामनगरमा केन्द्रिय कार्यालय रहेको भिजन सेक्युरिटीले म्याग्दीमा सेयर बजारको सम्भावनालाई मध्यनजर गरी स्थापना गरेको शाखामा दैनिक १५ देखि २५ जना सेयर बजारका बारेमा परामर्श लिन आउने गरेको शाखा प्रमुख गिता शर्माले बताईन्।

‘सेयर बजारका बारेमा बुझ्न आउन थाल्नुभएको छ,‘हामीले सक्ने जानकारी दिएका छौ’ प्रमुख शर्माले भनिन् ।

उनले म्याग्दीमा सेयर बजारका बारेमा चासो राख्नेको संख्या धेरै भएकाले विस्तारै चाप बढ्ने भएकाले आवश्यक संरचना समेत तयार गरिएको बताईन् ।

पहिलोपटक सेयर बजारका बारेमा बुझ्न आउनेहरु निकै सन्तुष्टी भएर फर्किने गरेको समेत प्रमुख शर्माको भनाई छ । उनले प्रतिस्पर्धाका लागि नभई म्याग्दीका सेयर लगानीकर्ताको आवश्यकतालाई मध्यनजर गरी स्थापना भएको बताईन् ।

हाल कार्यालयमा डिम्याट खाता खोल्ने, लगानीकर्ताले ब्रोकर आइडी खोल्ने, अनलाइनबाट कारोबार गर्नका लागि टिएमएसका लागि आउने गरेको भिजन सेक्युरिटीले जनाएको छ ।

म्याग्दी जिल्लामा शाखा विस्तारगरेसँगै सेयरबजारका बारेमा शिक्षा सहित विभिन्न जानकारी समेत दिने समेत भिजन सेक्युरिटीले गरेको छ ।

पछिल्लो समय बैंकिङ पहुँचमा रहेका अधिकांसको डिम्याट खाता भएकाले सेयर बजारका बारेमा आवश्यक शिक्षाको वातावरण भएमा आकर्षण बढ्ने लगानीकर्ताको भनाई छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरको शाखा बिस्तार गर्न अनुमति दिएपछि गत महिना शाखा विस्तार गरिएको थियो ।

भिजन सेक्युरिटीले शेयर बजारलाई म्याग्देली जनताको पहुँचमा पुर्याउन शाखा विस्तार गरिएको जनाएको छ । हालसम्म म्याग्दीका लगानीकर्ताले सेयर खरिद–बिक्रीका लागि अनलाइनसँगै बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेको थियो ।

बागलुङमा दिव्या सेक्युरिटी एन्ड स्टक हाउस शाखा कार्यालय रहेको छ । पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) र दोस्रो बजारमा खेल्ने समेत ठूलो संख्यामा लगानीकर्ता म्याग्दीमा रहेका छन् ।