लेखापालको नियुक्तीदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ । गत माघ अन्तिम साता लेखापाल नियुक्त भएकी टुककुमारी शर्माले विद्यालयबाट लिएको अनाधिकृत सुविधाको विषय चर्चामा आएको हो ।

शर्माका श्रीमान र विद्यालयका प्रधानाध्यापक बीचको संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विद्यालयनै चर्चामा आएको छ । लेखापाल शर्माका श्रीमान धौलागिरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक प्रकाश शर्मा र विद्यालयका प्रअ शान्तमणी ढकाल बिच खुल्ला विद्यालय कार्यक्रममार्फत लेखापाल शर्माले लिएको तीन हजार रुपैयाँको विषय चर्चामा छ ।

अनौपचारिक शिक्षा कार्यक्रमअन्र्तगत विद्यालयले हरेक वर्ष एक लाख ५२ हजार रुपैयाँ पाउँछ । यो रकम परिचालन गर्न विद्यालयका प्रअलाई संयोजक र एक जना शिक्षकलाई कार्यक्रम सहायकको रुपमा जिम्मेवारी छ । कार्यक्रमअन्र्तगत संयोजकले हरेक महिना ७ सय रुपैयाँका दरले ८ हजार ४ सय रुपैयाँ पाउँछन् ।

कार्यक्रम सहायकले सबै संयोजन गर्ने भएकाले मासिक ८ सयका दरले ९ हजार ६ सय र कार्यालय सहयोगीले वर्षमा ६ हजार रुपैयाँ पाउँछन् ।

एक महिना ४२ वटा कक्षा सञ्चालन गरेर पढाउने एक जना शिक्षकले एक कक्षाको १ सय रुपैयाँका दरले पारिश्रमीक पाउने व्यवस्था छ । कार्यक्रम सहायकको रुपमा भीम प्रसाद गौतमलाई जिम्मेवारी दिईएको छ ।

सोही कार्यक्रमको रकमबाट लेखापालले समेत सुविधा खोजेपछि विद्यामन्दिरमा विवाद भएको हो । कार्यालय सञ्चालनका लागि भनेर कार्यक्रममार्फत आएको ६ हजार रुपैयाँ विद्यालयका दुई लेखापालले बाँडेर लिएका छन् ।

‘कानुनी रुपमा लेखापाललाई रकम दिने व्यवस्था छैन, व्यवस्थानै नभएको कुरा हामी दिन सक्दैनौं’ प्रअ ढकालले भने ‘बाहिरको मान्छे भनेर मलाई हेपे, मैले कानुनविपरितको काम गर्दिन् ।’ लेखापाल शर्माले हरेक पटक चेक काट्ने समयमा आँफुलाई कमिसन चाहिने भन्दै चेकमा हस्ताक्षर गर्न नमान्ने गरेको ढकालले आरोप लगाए ।

‘उहाँलाई केही काम गर्नै आउँदैन, सिक्नुस् भन्दा सकेको गर्छु नभए सक्दिन अर्को लेखापाल राखी काम गराउनुस् भन्नुहुन्छ’ ढकालले भने ‘के को स्रोतले अर्को राख्ने ।’

कार्यक्रम सहायक भीम प्रसाद गौतम भने प्रअ र लेखापालको परिवार बीचको विवाद खुल्ला विद्यालय कार्यक्रम नभएको बताउँछन् । ‘उहाँहरुका आन्तरिक विवाद थिए, बेकारमा यो कार्यक्रमलाई जोड्नुभयो’ शर्माले भने ‘कार्यालय सञ्चालनको रकम काम गरेका लेखापालले पाउँदा विवाद गर्नुपर्ने विषय थिएन ।’

शर्माको नियुक्ति ताका विद्यालयले आफैंले गरेको विज्ञापन विपरित लेखापाल नियुक्त गरेको थियो । प्रचलित पद्धतीको सामान्य भाषासमेत नबुझी उमेर हद र विषय तोकेका कारण लेखापाल नियुक्तीपछि विद्यालय नै विवादमा तानिएको थियो ।

‘मलाई ठुलो थ्रेट आयो नियुक्तीका बेला नेपाली पढेको मान्छेलाई नियुक्त गरियो’ ढकाल भन्छन् ‘अहिले म बोल्नै नहुने भनेर उहाँहरुले धम्क्याउनुहुन्छ ।’

विद्यालयले लेखापाल नियुक्तिका लागि लेखा विषय लिई कक्षा १२ उत्तिर्ण गरेका उम्मेदवारलाई आवेदन आव्हान गर्दै विज्ञापन गरेको थियो । तर विद्यालयले अर्थशास्त्र मुल विषय भएकी उम्मेदवार छनौट भएपछि विवाद निम्तिएको थियो ।

शर्माको नियुक्ती गर्न नमानेका ढकाल र राजनीतिक पहुँचका आधारमा आफ्नो श्रीमतीलाई विद्यालयको लेखापाल बनाएका शर्माबीच माघदेखि नै विवाद थियो ।

धौलागिरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक शर्मा विद्यामन्दिरका आंशिक शिक्षक समेत हुन् । केही समय पहिलेसम्म महिनामा प्रत्येक कक्षाको १२ हजार पारिश्रमिक पाउनेगरी ७ ओटा कक्षा पढाएका शर्माको एक पिरियड खोसिएकाले आँफुमाथी खनिएको आरोप ढकालले लगाए ।

उता ढकालसँग फोन संवादमा श्रीमतीले पाउनुपर्ने सुविधाको विषयमा सवालजवाफ गरेका प्रकाश शर्माले भने प्रधानाध्यापकले महिला कर्मचारीमाथी दुव्र्यवहार गर्ने, हेप्ने गरेकाले आँफुले असामान्य अवस्थामा फोन संवाद गरेको बताए ।

‘उहाँले हेपेरै जानुपर्छ भन्ने मानसिकता राखेर लेखापाललाई अनेक तनाव दिनुभएको रहेछ’ शर्माले ढोरपाटनसँगको टेलिफोन संवादमा भने ‘लिनुदिनु केही होईन प्रवृत्तिको विरोध गरेको हुँ, कुराकानी सकिएपछि सबै सकियो, मैले दुश्मनी पालेको छैन् ।’ प्रशिक्षार्थी शिक्षक पठाउने र उनीहरुलाई उपलव्ध हुने आंशिक पारिश्रमीकको विषयमा समेत शर्मा र ढकालको बिचमा लामो समयदेखि विवाद हुँदै आएको थियो । Source: dhorpatannews.com
अडियो सुन्नुहोस…

Leave a Reply