मेहनत गर्न सके यही माटोमा सुन उम्रिन्छ । निरन्तरको लगावले जुनसुकै काममा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा ‘रुविना नर्सरी हाउस’की सञ्चालिका सीता गुरुङले प्रमाणित गरेकी छन् ।

पहिले चक र डष्टर समाएका उनका हातहरुले बिरुवा गोड्न थालेपछि अहिले उनको दैनिकी फेरिएको छ । पिता रामबहादुर गुरुङ र माता विमला गुरुङको सातौं सन्तान मध्येकी साइली छोरीको रुपमा म्याग्दीको मालिका-६, गोगनपानीमा (साविकः दरवाङ-७, गोगनपानी) जन्मिएकी सीताको वाल्यकाल गाउँघरकै उकाली ओरालीहरुमै वित्यो ।

मध्यम परिवारमा हुर्किएकी उनको जीवनको लक्ष्य भनेको शिक्षिका बन्नु थियो । २०५७ सालमा जनप्रिय मा.वि. दरवाङ्बाट एस.एल.सी उत्तीणर् गरेपछि नीजिस्रोतबाट सिद्ध प्रा.वि.गोगनपानीमा चक र डष्टर समाएर तीन वर्ष विद्यार्थी र अक्षरहरुसँग खेल्न थालिन् ।

आफूलाई मनपर्ने पेसामा आवद्ध हुन पाउँदा उनी दङ्ग थिइन् तर चक र डष्टर समाएर विद्यार्थीहरुसँग खेल्ने उनको रहर तीन वर्षमै टुङ्गियो । त्यस लगत्तै उनी बेनी झरिन् । उनका लागि बेनी बजार नयाँ र नौलो थियो । अपरिचित मान्छेहरुसँग घुलमिल हुन सहज थिएन तर पनि उनी हार मानिनन् ।

उनको सरल स्वभाव र मेहनतकै कारण सामुदायिक बन उपभोक्ता महासङ्घ म्याग्दीको सदस्य, महासचिव, जिल्ला अध्यक्ष हुँदै हाल गण्डकी प्रदेस सहसचिव रहेकी छन् । प्लस टुसम्म अध्ययन गरेकी उनी बन उपभोक्ताको सदस्य हुँदैगर्दा बन र कृषि कार्यालयले दिने हरेक तालिमहरुमा उनको सहभागिता हुने गर्दथ्यो ।

साथीहरुको सङ्गत र तालिमहरुको प्रभावका कारण उनलाई नर्सरीमा रुचि बढ्दै गयो । रुचि र मेहनतकै कारण आज उनले ९.५ रोपनीमा फैलिएको ‘रुविना नर्सरी हाउस’ सञ्चालनमा ल्याउन सफल भएकी छन् । जसको वार्षिक भाडा एकलाख पचास हजार तिर्ने गर्दछिन् ।

यस कार्यमा उनलाई ‘दीक्षा नर्सरी हाउस’की सञ्चालक तेजकुमारी पुनले साथ दिएकी छन् । उक्त नर्सरी हाउसमा आजसम्म १५ लाख लगानी भैसकेको छ जसमा ‘कृषि ज्ञानकेन्द्र म्याग्दी’ले एकलाख पन्द्र हजार रुपियाँ सहयोग गरेको छ ।

बेनी नगरपालिका-७ महारानीथान अवस्थित ‘रुविना नर्सरी हाउस’मा यतिखेर टिमुरका सत्र हजार र दाते ओखरका सात हजार विरुवा उत्पादन भैसकेका छन् । त्यसैगरि बाह्रमासे, पिटोनिया, धूपी, सयपत्री जस्ता फूलका बिरुवाहरु पनि विक्रिका लागि तयारी अवस्थामा रहेका छन् ।

काउली, बन्दागोभी, जुकेनी, टमाटर, घिरौंला, लौका, खुर्सानीका बिरुवाहरुपनि उनले सस्तो मूल्यमा बिक्रि गरिरहेकी छन् भने उनको नर्सरीमा पाँच कर्मचारीहरुले काम पाइरहेका छन् । चाहेमा जागीर पनि खान सक्थिन्, विदेश पनि जान सक्थिन् तर उनले कुटो/कोदालो नै रोजिन् ।

जागीर खाएर पनि असन्तुष्ट आफ्नै साथीहरुलाई उनले नजिकबाट बुझेकी छन्, विदेशबाट फर्किएका साथीहरुलाई पनि नजिकबाट पढेकी छन् । त्यसकै कारण पनि उनी आत्मनिर्भर र सन्तुष्ट हुन कृषि पेसालाई रोजिन् ।

बैदेशिक रोजगारीमा रहेका उनका श्रीमानको कोभिड-१९का कारण रोजगारी गुमेपछि यतिखेर उनले नर्सरी हाउसमा श्रीमतीलाई सघाइरहेका छन् । बिहान सात बजे नै आफ्नो नर्सरी हाउसमा पुगिसकेकी उनी साँझ छ बजे मात्र रुम फर्कन्छिन् ।

दिनभर बिरुवासँग खेल्न पाउँदाको खुशी अतुलनिय छ । ‘नर्सरी आमा’को रुपमा परिचित उनका एक छोरा र एक छोरी समेत रहेका छन् । सीताको ‘रुविना नर्सरी हाउस’का बारेमा जान्न चाहेमा ९८४७६३४६७० नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । ‘बुलबुल’ साप्ताहिकबाट